Logo

कोरोना महामारीमा काम लाग्ने हाम्रो परम्परागत ज्ञान

बजारमा पाइने प्रशोधित प्याकिङको खानेकुरा भन्दा सजिलै उपलव्ध हुने खानेकुराहरु पोषिलो, स्वास्थ्यबद्र्धक र रोग प्रतिरोध गर्न सक्ने हुन्छ



कोरोना महामारीको तेस्रो लहर जारी छ । पहिलो र दोस्रो लहर भन्दा पनि तेस्रो लहरका क्रममा छिटो संक्रमित हुने ओमिक्रोन भेरियन्टका कारण जनजीवन त्रस्त बनेको छ । दैनिक ९ देखि १० हजार संक्रमितको तथ्याँक आइरहेको छ । यस क्रममा ठूलो संख्यामा स्वास्थ्यकर्मी आफै संक्रमित भए पछि स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्द भएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भए पछि त्यहाँको सेवा बन्द गरिएको छ । म्याग्दी चितवन, रुपन्देही लगायतमा पनि स्वास्थ्य सेवा बन्द भएका छन् ।

कोरोना महामारी बिरुद्धको उपचार औपचारिक उपचार हो । कोरोना संक्रमित भए पनि घरैमा उपचार गर्ने तथा पीसिआर जाँच नगराउनेको संख्या औपचारिक सेवा लिने भन्दा दोव्वर रहेको अनुमान गर्न सकिन्छ । उनीहरु राज्यबाट प्रदान गरिने स्वास्थ्य सेवा भन्दा पनि आफनै परम्परागत उपचारमा विश्वास गर्ने भएकाले औपचारिक स्वास्थय सेवा तर्फ नलागेका हुन सक्छन् ।

महामारीका बेला काम लाग्ने ज्ञान

नेपाली समाजमा आफनै स्वास्थ्य प्रणाली कायम रहँदै आएको छ । परम्परागत यो प्रणालीमा आध्यात्मिक विश्वास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने ज्ञानहरु रहेका छन् । आफनै घर आँगन, करेसावारीमा पाइने जडिबुटी, औषधिजन्य बोट बिरुवाको पहिचान आदिवासी ज्ञानबाट सम्भव छ । यसलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ । आदिवासी समाजमा आध्यात्मिक आस्थामा आधारित सामूुहिक पुजा, प्रार्थना, योग, ध्यान, मोलम पाठलगायतका क्रियाकलाप आदिवासी जीवनको अभिन्न अंग हो । आम्ची, बिजुवा, धामी, वोन्वो लगायतले फरक फरक आदिवासी समुदायमा फरक नामबाट यसको नेतृत्व गरिरहेका हुन्छन् । उनीहरुसंग स्वास्थ्य सम्बन्धि ज्ञानको प्रचुर संभावना हुन्छ । कोरोना महामारीका क्रममा यसलाई सकारात्मक ढंगले प्रोत्साहन गर्न आवश्यक छ ।
यस्तो उपचार प्रणाली अन्धविश्वास भन्ने धेरैलाई लागेको हुन सक्छ । उपचारमा प्रयोग हुने जडिबुटी खानपान तथा प्राकृतिक जीवनशैली जस्ता तत्व ज्ञान कुनै अन्ध विश्वास नभएर आधुनिक चिकित्सा विज्ञानको सहयोगी अवयवहरु हुन् । यसैले कोरोना महामारीमा सुरक्षित रहनु संगसंगै प्राकृतिक जीवन शैली अपनाउनु सुरक्षित रहने उपाय हो ।

आदिवासी खाना तथा परिकार :

आदिवासी समाजमा आफनै मौलिक खानाहरु प्रचलित छन् । पुस्तौदेखि चलि आएका आदिवासीका खानाहरुमा सन्तुलित, रोग प्रतिरोध क्षमता भएका हुन्छन् । स्थानीयस्तरमा नै सजिलै उपलव्ध हुने मकै, कोदो, गहुँ, फापर, घैया, कागुनी, उवा, जुनेलो लगायतका खाद्यन्न, फलफूल, कन्दमूल, सागसब्जीको सेवन गर्ने आदिवासी परम्परा छ । यस्ता खानाहरुको संकलन, भण्डारण, प्रसोधन र पकाउने विधि आदिवासी ज्ञानले मात्र निर्देश गर्न सक्छ । बजारमा पाइने प्रशोधित प्याकिङको खानेकुरा भन्दा हाम्रै साधन र सा्रेतमा सजिलै उपलव्ध हुने खानेकुराहरु पोषिलो, स्वास्थ्यबद्र्धक र रोग प्रतिरोध गर्न सक्ने हुन्छन् । यसकारण कोरोनाबाट जोगिने उपायका रुपमा आदिवासी खानाको प्रयोग अर्को सुरक्षित हुने उपाय हो ।

कोरना महामारी जस्तै विपद्का बेला विगतमा अभ्यासमा आएका परम्परागत मान्यता अहिलेको सन्दर्भमा पनि सान्दर्भिक हुन्छ । परम्परा इतिहाँसको शिक्षा र बर्तमानको चुनौतिलाई समाधान गर्ने यो ज्ञानको प्रयोग यस्तै संकटमा गर्ने हो । स्वास्थ्यको क्षेत्रमा प्रचलित सोवारिग्पा उपचार पद्धत्ति यसैको एक उदाहरण हो । यस्तै स्थानीय बोटबिरुवा, नदी खोला तथा तलाउ, भीर, पाखा, समतल भूमिमा उपलव्ध प्राकृतिक स्रोतमा पाइने जडिबुटीलगायत औषधीजन्य पदार्थको पहिचान गर्ने ज्ञान यस्तै परम्परामा हुन्छ । यसरी आदिवासी जनताको जीवन रक्षा, खाद्य आपुर्तिका लागि खान मिल्ने बिभिन्न प्रकारका स्रोतको पहिचान गर्ने सीप यी परम्पारबाट आएका हुन् । कोरोनाजस्ता महामारीका बेला नागरिकको रोग प्रतिरोध गर्ने क्षमता अभिवृद्धि गर्न खाद्य पदार्थ पहिचान गर्ने परम्परागत ज्ञान वश्वव्यापी प्रोत्साहित भएको प्रसंग हाम्रो अगाडि ताजै छ ।

आवागमनको नियमन गर्ने परम्परा

आदिवासी समाजलाई नियमन गर्ने आफ्नै परम्परा र प्रथाजनित संस्थाहरु छन् । नेवा आदिवासीको गुथीः, थकाली आदिवासीको तेह्र मुखिया घम्प, थारु आदिवासीको बरघर, माझीको मझेसावा, धिमाल र सन्थालकोे माझी वाराङ, ह्योल्मोको ह्युल्ठीम, मगरको भेजा, तामाङको चोहो, लिम्बु, राईका तुतुतुम्याङहरुले यस्तो महामारीमा गर्ने अभ्यास सम्झाईरहेका हुन्छन् ।

धेरैस्थानमा प्रथाजनित संस्थाहरुले बाह्य मानिसको आगामनलाई नियमन गर्ने नियम लागु गरेका छन् । उदाहरणका लागि पाल्पाको मगर गाउँमा मगर अगुवाहरुको बैठकबाट मूलबाटोमा विशेष संकेत लगाउने काम गरेका छन् । प्रथाजनित भेजाको नियम अनुसार यस्तो संकेत नाघेर गाउँमा जान नहुने आदेश हो । यस प्रकारको आदेशले आदिवासी गाउँमा बाह्य मानिसको आवागमनलाई नियमन गर्दछ ।
यस्तो अभ्यास धेरै स्थानमा भएको पाइन्छ । तर ती अभ्यास नबुझेर वा त्यसको सकारात्मक अर्थ दिन नसकेर यस्ता क्रियाकलापलाई अबैज्ञानिक तथा अन्धविश्वास भन्ने गरिएको छ । तर यो कुनै अन्ध विश्वास नभएर प्रथाजनित व्यबहार हो । जसको पालनाले समाजलाई सुरक्षित बनाउन सहयोग गर्दछ । वास्तवमा कोरोना महामारी आवागमनबाट सर्ने रोग हो ।

कोरोना महामारी आजको यथार्थ हो । महामारीबाट कोही पनि अछुतो रहेका छैनन् । समाजका सबै बर्ग, जाति तथा समुदाय प्रभावित छन् । तर यो तथ्य पनि सत्य हो कि प्रथाजन्य भूमिमा जो प्राकृतिक जीवन बाँचीरहेको छ, उ यो संसारमा सबैभन्दा बढी सुरक्षित रहेको हुन्छ । संसारभरीका आदिवासीहरुको अनुभवबाट यो सिद्ध हुन्छ कि जुन आदिवासी समाज आफनो प्रथा, परम्परा र ज्ञानलाई आफनो प्रथाजन्य भूमि र भूभागमा प्राकृति स्रोत र साधनको जगेर्ना गरेर प्राकृतिक जीवन बाँचि रहेको छ, उ नै सर्वाधिक सुरक्षित प्राणी हो ।