एडिलेड, अस्ट्रेलिया । दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडमा पहिलोपटक दशैंतिहार महोत्सवको आयोजना हुने भएको छ । दशैंको पञ्चमीका दिन सेप्टेम्बरको २७ तारिखमा हुने महोत्सव वुडभिल टाउन हलमा हुने भएको छ ।
एडिलेडमा पहिलोपटक दशैंको अवसर पारेर दशैंतिहार महोत्सव आयोजना हुन लागेको हो । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । अस्ट्रेलियास्थित ब्रहमकुमारीज राजयोग केन्द्र एडिलेड शाखाले आयोजना गर्न लागेको महोत्सवको मुख्य उद्देश्य नेपाली चाडपर्व, कलासंस्कृती र पहिचानलाई यहाँ हुर्कदै गरेको दोस्रो पुस्ता समक्ष लैजानु रहेको आयोजकले जनाएका छन् । आयोजक संस्थाकी सरीता निरौलाले महोत्सवले दशैं र तिहारको धार्मिक, सांस्कृतिक र कलात्मक महत्वलाई यहाँको स्थानीय समुदाय र दोस्रो पुस्ता समक्ष पुरयाउने बताईन् । उनले कार्यक्रमको मुख्य आकर्षण पहिलोपटक एडिलेडमा प्रस्तुत गर्न लागिएको नवदुर्गा झाँकी हुने बताईन् । यसका साथै बिभिन्न नेपाली कला संस्कृती झल्कने गीतसंगीत, नृत्य र साँस्कृतिक प्रस्तुती आयोजना गरिने निरौलाले जानकारी दिईन् ।

९ सयजना अट्ने क्षमताको वुडभिलको टाउन हलमा भारत तथा नेपालका ख्यातीप्राप्त कलाकारले प्रस्तुती दिने गरेका छन् । कार्यक्रमको संयोजनमा लागि परेका आयोजक संस्थाका सदस्य बिकास शर्मा पोखरेलले नेपालीको ठुलो चाड दशैतिहारको महत्व झल्कने गरि महोत्सवका रुपमा पहिलोपटक कार्यक्रमको आयोजना हुन लागेको सुनाए ।
‘एडिलेडमा नेपालीको संख्या बढिरहेको सन्दर्भमा यस महोत्सवले हुर्कन्दै गरेका दोस्रो पुस्तालाई आफ्नो चाडपर्वसँग नजिक बनाउने र यहाँका स्थानीयले नेपाली पर्वका बारेमा जानकारी दिनेछ ।’ पोखरेलले भने । उनले महोत्सवमा बिभिन्न धर्म, संस्कृती, परम्परा र पहिचान झल्कने प्रस्तुत हुने समेत बताए ।
महोत्सवमा नेपाली समुदायका साथै अन्य समुदायका ब्यक्तिहरुको समेत सहभागिता रहने अपेक्षा गरिएको छ । यसका साथै यहाँका बहुसांस्कृतिक मन्त्री, राजनीतिक दलका नेताहरुको समेत सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया