काठमाडौँ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी काममा खटिएका कर्मचारीहरुलाई निरुत्साहित गर्ने र सामाजिक सञ्जालमा जथाभावी वक्तव्य नदिन ध्यानाकर्षण गराएको छ।
काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ट्राफिक प्रहरीबाट आफ्नो परिवारमाथि दुर्व्यवहार भएको आइतबार आरोप लगाएका थिए। त्यसको भोलीपल्ट सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
‘सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ‘यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभाव वक्तव्यबाजी नगर्नुरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’
गृह मन्त्रालयको निर्देशनानुसार सरकारी स्रोतसाधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा जनाइएको छ।
शनिबार मेयर बालेनकी श्रीमती चढेको सरकारी नम्बरप्लेटको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा कोटेश्वरमा रोकेको थियो। ट्राफिक प्रहरीले केहीबेर सोधपुछ गरी छोडेको थियो।
श्रीमती चढेको आफ्नो सरकारी गाडीलाई ट्राफिकले रोकेको थाहा पाएपछि आक्रोशित बनेका मेयर बालेनले सामाजिक सञ्जालमार्फत ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्की दिएका थिए।

प्रतिक्रिया