व्यक्तिको जग्गामा प्रवेश नगर्न हर्क साम्पाङलाई उच्च अदालतको आदेश

व्यक्तिको जग्गामा प्रवेश नगर्न हर्क साम्पाङलाई उच्च अदालतको आदेश


काठमाडौँ ।

सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिका जग्गामा प्रवेश नगर्न आदेश दिएको छ।

बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो।

यसअघि पनि अदालतले सोही आदेश दिएको थियो। जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि व्यक्तिको जमिनमा प्रवेश नगर्न र वृक्षारोपण नगर्न आदेश दिएको थियो।

धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए।

गत सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद बल्झेको थियो। उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिए।