धादिङ बस दुर्घटनाः मृतक चारको सनाखत

धादिङ बस दुर्घटनाः मृतक चारको सनाखत


मलेखु ।

धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ। सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन्।

दुई महिला सहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको छ। मृतक एकजना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले ‘इ सेवा’बाट टिकट लिएका थिए। कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताए। उनले सकुशल रहेका छन्।

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो। प्रहरी उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा घाइते छन्।

१३ जनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन्।

बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए। विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ।