राष्ट्रिय सभा चुनावः १८ सिटमा गठबन्धन, एकमा एमाले विजयी

राष्ट्रिय सभा चुनावः १८ सिटमा गठबन्धन, एकमा एमाले विजयी


काठमाडौं, १२ माघ । राष्ट्रिय सभाका लागि रिक्त हुन थालेका १९ पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका १८ उम्मेदवारविजयी भएका छ । एक पदमा भने नेकपा एमालेले जित हात पारेको छ । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।
तर, प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन् । बाँकी १८ पदमा भने गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन भएका १९ पदमा एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । तर यो निर्वाचनबाट एमालेले ८ मध्ये एक पदमात्रै जोगाउन सकेको छ भने ७ पद गुमाएको छ । ७ पद कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले लिएका छन् ।
राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ र जसपाले १ सिट बढाएका छन् । तर अझै पनि राष्ट्रिय सभाको पहिलो ठूलो दल भने एमाले नै रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका २४ सिट छन् । अब ७ गुमाएर पनि एमाले १७ सिटसहित पहिलो ठूलो दल बनेको छ । यससँगै माओवादी केन्द्रले १५ सिट पु¥याएको छ भने कांग्रेसले १० सिट पु¥याएको छ । त्यस्तै, एकीकृत समाजवादीले ८ र जसपाले ३ सिट पु¥याएका छन् । राष्ट्रिय जनमोर्चा भने पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ । २०५१ सालदेखि संसदीय राजनीतिमा प्रवेश गरेको जनमोर्चा पहिलो पटक राष्ट्रिय सभामा पुगेको हो ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् । प्रदेश १ मा महिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन् । यस्तै, मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन् । वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । यस्तै, गण्डकी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेश आलेमगर निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङ र माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगतबहादुर पार्की र एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार १९ पदका लागि ४३ जना प्रतिस्पर्धामा थिए ।
राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आगामी फागुन २१ गते सकिँदैछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य छन् । बाँकी १९ पदका लागि निर्वाचन भएको थियो । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम राष्ट्रिय सभामा सिट खाली हुनुअघि नै निर्वाचन भएको हो ।