२६ जनवरीमा ‘अष्ट्रेलिया डे’ किन मनाईन्छ ?

२६ जनवरीमा ‘अष्ट्रेलिया डे’ किन मनाईन्छ ?


हरेक वर्ष २६ जनवरीलाई अष्ट्रेलिया डेको रुपमा मनाउने गरिन्छ । यो दिन सार्वजनिक बिदा समेत पर्दछ । आखिर किन यो दिनलाई अष्ट्रेलिया डे नामाकरण गरियो र यसको ऐतिहासिक तथ्य के हो ? धेरैलाई जानकारी नहुन सक्छ । आउनुस् यसको ऐतिहासिक पाटोलाई नियालौं –

सन् १७८८ मा जनवरी २६ तारिखकै दिन युरोपबाट पूर्वतर्फ लागेको पानीजहाज सिड्नीको सिड्नी कोभमा आइपुगेको थियो । यस पानीजहाजको नेतृत्व आर्थर फिलिपले गरेका थिए । यो पानीजहाजमा बेलायतमा विभिन्न अपराधमा जेल परेका मानिसहरुलाई राखिएको थियो । यिनीहरुलाई स्थायी रुपमा अष्ट्रेलियामा बसाउनका लागि ल्याइएको थियो भने २६ जनवरीकै दिन अष्ट्रेलियामा पहिलो पटक बेलायती झण्डा फहराइएको थियो । यही दिनको स्मरणमा त्यतिबेला फाउन्डेसन डेको रुपमा स्थानीय राजनीतिकर्मी र व्यापारीहरुले मनाउन सुरु गरेका थिए ।

यो दिनमा निजी डिनर कार्यक्रम र नाचगान हुने गर्दथ्यो । त्यसपछि यो दिनलाई एनीभर्सरी डे भनेर मनाउन थालियो । सन् १८३६ मा सिड्नी हार्बरमा डुंगा दौडको आयोजना गरिएको थियो । यो विश्वकै सबैभन्दा पुरानो डुंगादौडमध्ये मानिन्छ । यो दौडलाई अष्ट्रेलिया डे रिगाट्टा नामाकरण गरियो । सन् १८३८ मा अष्ट्रेलियामा बेलायतीहरुको आगमनको ५० वर्ष पुगेको अवसरदेखि पहिलो पटक यो दिनको स्मरण गर्दै सार्वजनिक रुपमा उत्सव मनाउन सुरु गरियो । यसपछि लगातार यो दिनलाई पूरै अष्ट्रेलियन महादेशभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने क्रम कायम रह्यो ।

यसको सय वर्षपछि १९३८ मा बेलायती आगमनको १ सय ५० वर्ष पुगेको अवसर पार्दै यो दिनलाई सार्वजनिक बिदा दिने चलन सुरु भयो । यसक्रममा सैनिक अधिकारीहरुले परेडहरुमा सहभागी हुने, खेलकुद गतिविधि गर्ने, आतिशबाजी गर्ने लगायतका गतिविधि हुन थालेका हुन् ।

विरोधमा आदिवासी

अष्ट्रेलिया डेलाई राष्ट्रिय दिवसको रुपमा मनाइए पनि यहाँका आदिवासी एबोर्जिनल र टोरेस स्ट्रेट आईल्यान्डरले भने यो दिनलाई अतिक्रमण दिवसको रुपमा मान्ने गर्दछन् । बेलायतीहरु अष्ट्रेलियामा आएपछि यो ठाउँलाई कब्जा गर्ने क्रममा भएको हिंसात्मक गतिविधि, दशकौंसम्म उनीहरुमाथि गरिएको अन्याय, अत्याचार र दमनलाई स्मरण गर्दै उनीहरुले यसको हिसाब किताब माग्न सुरु गरेका थिए । उनीहरुले विभिन्न समयमा २६ जनवरीको राष्ट्रिय दिवसको विरोधमा प्रदर्शनहरु गरेका छन् भने यो दिन परिवर्तन गर्न पनि माग राखेका छन् ।

आदिवासी नेताहरु एकदिन अवश्य पनि सबैलाई मान्य हुने राष्ट्रिय दिवसको घोषणा हुने विश्वास गर्दछन् । विभिन्न समयमा अरु कुन दिन अष्ट्रेलियाको राष्ट्रिय दिवस हुन सक्छ भन्ने बहसहरु भएका छन् । जसमा जनवरी १ तारिख, ८ मे, २७ मे चर्चामा छन् । जनवरी १ तारिखलाई सन् १९०१ जनवरी १ तारिखमा अष्ट्रेलियामा संघीयताको सुरुवातलाई लिने गरिन्छ भने मे ८ सुन्दा नै मेट सुनिन्छ । मेट अर्थात् साथी ।

यसैगरी २७ मे तारिखलाई सन् १९७६ मा यहाँका आदिवासीहरुलाई पनि जनगणनामा समावेश गर्ने कि नगर्ने भन्ने विषयमा जनमतसंग्रह भएको थियो । अधिकांश अष्ट्रेलियनहरुले उनीहरुलाई पनि समावेश गर्ने पक्षमा मत दिएका थिए । यो जनमतसंग्रहको नतिजापछि संघीय संसदले यस सम्बन्धी कानून निर्माण गरेको थियो भने उनीहरुलाई जनगणनामा समावेश गरिएको थियो । उक्त जनमतसंग्रहमा आदिवासीहरुलाई जनगणनामा समावेश गराउन हुँदैन भन्ने पक्षमा नगण्य करिब १० प्रतिशत मत परेको थियो ।