साउन ३२, काठमाडौँ ।
विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ।
उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको सम्बन्ध खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ। सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ केन्द्रित गरेको स्रोतले जनाएको छ।
सीआईबीको हिरासतमा रहेका दावाले छानबिनमा सहयोग नगरेपछि सीआईबीले दावाको कलडिटेल सीडीआर मगाएर अनुसन्धान शुरू गरेको छ।
सीआईबी स्रोतका अनुसार बरामद भएको ६० किलो सुन र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप)बाट बरामद भएको ९ किलो सुनमा माओवादीका नेताहरूको कनेक्सन देखिएपछि दबाब र प्रभावमा काम भएकाले अनुसन्धानमा कठिनाइ आइरहेको सीआईबी स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार पछिल्लो समय नेपालको बाटो भई भारततर्फ तस्करी हुँदै आएको सुन तस्करीमा माओवादी केन्द्रका नेताहरू कुनै न कुनै रूपमा जोडिँदै आएको अनुसन्धानको क्रममा फेला परेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन काण्डको छानबिन सीआईबीले मात्रै नसक्ने भएकाले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ भने नागरिकस्तरमा जाँचबुझ आयोग ऐन २०२६ अनुसार उच्चस्तरीय न्यायिक आयोगको माग हुँदै आइरहेको छ ।
तर, माओवादीलगायतका सत्तारुढ दलले छानबिन तथा न्यायिक समिति बनाउन अनिच्छा व्यक्त गर्दै आइरहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

प्रतिक्रिया