काठमाडौँ ।
चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ। सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो।
सो क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो।
भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए। ‘एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको एकिन भएको छ, दुई जनाबारे आशंका मात्रै गरिएको छ”, रासससित कुरा गर्दै उनले भने, “खोजीकार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुुकुरसमेत परिचालन गरेको छ।’
दूतावासले भारतीय पक्षसित खोजीकार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै बरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तिव्ररुपमा भइरहेको जानकारी दिए। लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ।
बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गरेको बरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए। सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जिविका चलाउँदै आएका छन्। बेपत्ता भएकाहरु सबै जुम्ला घर भएकाहरु रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया