काठमाडौँ ।
कतारस्थित नेपाली दूतावासमा भएको एक कार्यक्रममा जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि भण्डारी र शनी कुमार ओली कुटिएका छन्। गैरआवासीय नेपाली संघ एनआरएनए कतारको दशौं अधिवेशनको विषयलाई लिएर जुलाई २४ तारिख नेपाली राजदूतावासको हलमा भएको छलफलमा भण्डारी र ओली कुटिएका हुन्।
एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा आफूमाथि कुटपिट भएको भण्डारीले आरोप लगाएका छन्। भण्डारीको कानको जाली फुटेको कतारको हमाद हस्पिटलको रिपोर्टले देखाएको छ।
बैठकमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले संस्थाको विधान विपरितको निर्णयमा हस्ताक्षर गराउन बल प्रयोग गरेको र नमान्दा कुटपिट गरेको भण्डारीले आरोप लगाएका छन्।
अध्यक्ष मुसलमानले नरेश श्रेष्ठ, अब्दुल रहमान, राम बहादुर हमाल लगायतका व्यक्तिहरूलाई बैठक कक्षमा प्रवेश गराइ कुटपिट गराएको आरोप लगाएका छन्।
यस विषयमा नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारी, नेपाली जनसम्पर्क समिति कतारका मुख्य सल्लाहकार शंकरप्रसाद न्यौपाने, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठीले नेपालको गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास कतार र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदमा उजुरी दिएका छन् ।
दूतावासभित्र भएको कुटपिटको घटनाका सन्दर्भमा पीडित बुद्धि प्रसाद भण्डारीले अध्यक्ष केसीलाई दिएको निवेदनको जवाफ दिँदै एनरआएनएका कार्यकारी अध्यक्ष बद्री केसीले संगठनलाई गलत बाटोमा लैजाने बताएका छन्।
बिहीबार केसीले इमेलमार्फत दिएको जवाफमा भनिएको छ, ‘यो साँच्चै दुखद घटना हो। यस प्रकारको घटनाले हाम्रो संगठनलाई गलत बाटोमा लैजान्छ र हाम्रो आन्दोलनलाई कमजोर बनाउँछ।’
यो विवाद स्थानीय प्रहरीमार्फत समाधान हुने भएकोले केही न केही निकास निस्कने उनको विश्वास छ। ‘तपाईंको पत्रबाट दूतावास र परराष्ट्र मन्त्रालय जानकार रहेको बुझिएको छ। हामी पनि उहाँहरूको राय बुझ्नेछौँ’, केसीको भनाइ छ।
यस्तै केसीले कतारमा रहेका एनआरएनएका पदाधिकारीहरु आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी र प्रविण गुरुङका साथै अन्य सबै आईसीसी टोली र एनसीसी टोलीलाई छलफलमार्फत समाधान निकाल्न समेत आग्रह गरेका छन्।
प्रतिक्रिया