स्वास्थ्य बीमाको भुक्तानी शुरु, एक अर्ब रुपियाँ भुक्तानी

स्वास्थ्य बीमाको भुक्तानी शुरु, एक अर्ब रुपियाँ भुक्तानी


काठमाडौं, १८ असोज । स्वास्थ्य बीमाअन्तर्गत सेवा दिन सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न थालेसँगै स्वाथ्य बीमा बोर्डले बाँकी भुक्तानी दिन थालेको जनाएको छ । बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा बापतको सेवा दिने स्वास्थ्य संस्थाले भुक्तानी नपाएको भन्दै सेवा बन्द गर्न थालेकाले क्रमशःभुक्तानी दिन थालिएको बताउनुभयो ।

स्वास्थ्य बीमा वापतको सेवा दिए बापत सूचिकृत स्वास्थ्य संस्थालाई सरकारले साढे तीन अर्व भुक्तानी दिन बाँकी रहेको डा. बसौलाले बताउनुभएको छ । यो हप्तामा देशभरका सूचिकृत विभिन्न स्वास्थ्य संस्थालाई एक अर्ब रुपियाँ भुक्तानी गरीएको उहाँले बताउनुभएको छ । अब बाँकी साढे दुई अर्ब रुपियाँ मंसिर भित्र भुक्तानी गरीसक्ने डा. बसौलाको भनाइ छ । ‘देशभर सूचीकृत स्वास्थ्य संस्थाहरुलाई साढे तीनअर्व जति दिन बाँकी थियो , केही दिन अघिमात्र एक अर्व भुक्तानी गरिसकेका छौं । अब मंसिरसम्म सबै भुक्तानी गरेर सक्छौं, ’उहाँले भन्नुभयो ।

नयाँ आर्थिक बर्षसँगै संंसदबाट बजेर पारित नभएर ‘बजेट होलिडे’ भएका कारण पनि भुक्तानीमा समस्या भएको उहाँको दावी छ । अब बिस्तारै सबै भुक्तानी चुक्ता गरेपछि महिना–महिनामा नै भुक्तानी दिने व्यवस्था गरिने बसौलाले बताउनुभयो ।

यता स्वास्थ्य बीमा वापतको भुक्तानी नपाएको भन्दै मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पतालले स्वास्थ्य बीमा वापतको सबै सेवा अझै नखुलेको जनाएको छ । बीमा बोर्डले केही रकम भुक्तानी गरेको भए पनि सबै रकम भुक्तानी नगर्दासम्म सेवा सुचारु गर्न नसकिने अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार रैसनले बताउनुभयो । बाँकी भुक्तानी प्राप्त भएपछि मात्र स्वास्थ्य बीमा बापतको सबै सेवाहरु सुचारु गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्य बीमा बापतको औषधि खरिदमै आर्थिक समस्या रहेकाले आफूहरुले सेवा बन्द गर्नुपरेको डा. रैसन बताउनुहुन्छ । आफूहरु कहाँ आउने स्वास्थ्य बीमाका विरामीलाई भक्तपुर अस्पताल पठाउने गरिएको उहाँले बताउनुभयो ।