काठमाडौँ ।
वैशाखमा श्रीमान् गुमाएपछि लाऔंलाऔं खाऔंखाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइपर्याे। सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो।
नौ वर्षका प्रदीप र १२ वर्षका दीपकलाई हजुरबुबा र हजुरआमाको साथमा छाडेर गीता रोजगारीको सिलसिलामा दुबई पुगिन्। दुबई गएको एक महिना नपुग्दै फेरि उनलाई अर्को ठूलो बज्रपात परेको छ। बुद्धभूमि नगरपालिका–१ कपासी घरमा हजुरआमासँगै सुतेका उनका दुई छोराको सर्पले डस्दा मृत्यु भएको छ।
सोमबार राति करिब ११ बजे टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने भएपछि घरेलु प्रविधिबाट उनीहरूको उपचार थालिएको थियो। तर, केही सुधार नभएपछि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगियो। त्यसबेलासम्म बिहानको ४ बजिसकेको थियो। स्थानीय सुमन बन्जाडेका अनुसार, पोलिक्लिनिकले आफूले नसक्ने भन्दै तुरुन्त बुटवल लैजान सुझाव दियो।
त्यसपछि दुवै जनालाई उपचारका लागि बुटवल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइयो। त्यहीँ दुवै जनाको मृत्यु भयो। मृत्यु भइसक्दासम्म बच्चाको परिवारलाई सर्पले डसेको थाहा थिएन। दुवै जना पारिजात बोर्डिङ स्कुल गोरुसिंगेमा अध्ययन गर्दै आएका थिए। अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोर्ट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।
दुवै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ भनेर यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अप्ठ्यारो हुने, शरीर दुख्नेजस्ता लक्षण सर्पको डसाइको हुने भएकाले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताए। हजुरआमा वसन्ता भुसालले घरबाट पाँच किलोमिटरको दूरीमा सर्पदंश उपचार केन्द्र रहे पनि आफूहरूलाई सर्पले डसेको थाहा नभएको बताइन्।
श्रीमान् बितेको तीन महिना पनि पुगेको छैन। यिनै छोराहरूको भविष्यका लागि दुबई गएको बेला तिनै छोराहरूले पनि अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ। उता, मृतकका हजुरआमा वसन्तालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ।

प्रतिक्रिया