काठमाडौँ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी दिए। साथै हेलिकोप्टर दुर्घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नीराजन बस्नेत नेतृत्वको टोली पुगेको छ।
प्रजिअ भट्टराईका अनुसार दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको र एक जनाको खोजी भइरहेको छ। साथै मृतकको पहिचान खुलिसकेको छैन भने थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ।
उनले भने, ‘‘जिल्लाबाट १२ जना नेपाल प्रहरी र नौ जना नेपाली सेनालाई पठाइएको छ। दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको छ। एक जनाको शवका टुक्रा भएको अवस्थामा भेटिएको भन्ने छ तर पुष्टि भइसकेको छैन।’’
हेलिकोप्टरमा सवार चालक दलका सदस्यबाहेक पाँच जना मेक्सिकोका नागरिक भएको पुष्टि भएको छ। क्याप्टेन चेत गुरुङले उडाएको हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार,सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार थिए।
सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो।

प्रतिक्रिया