मेलबर्न, अष्ट्रेलिया ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाव नजिकिएसँगै विभिन्न पदमा उम्मेदवारी दिने क्रम बढ्दै गएको छ। यसै क्रममा एनआरएनए एनएसडब्लुको संयोजक तथा एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा सन्ध्या शाहले उम्मेदवारी घोषणा गरेकी छन्।
आइतबार सिड्नीमा आयोजित एक कार्यक्रमकाबीच शाहले एनएसडब्लु संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन्। विगत १४ वर्षदेखि अष्ट्रेलिया बस्दै आएकी शाह नेपाल बाँकी जिल्ला निवासी हुन्। नारी निकुञ्जको सदस्य हुँदै एनएसडब्लु राज्य समितीको महिला संयोजक, राष्ट्रिय संयोजक पदमा रहेर काम गरीसकेकी शाह प्रजातान्त्रिक प्यानलबाट उठेकी आधिकारिक उम्मेदवार हुन्।
शाह लामो समयदेखि अष्ट्रेलियाको नेपाली समुदायमा समाज सेवा गर्दै आएकी छन्। उनले आफू अष्ट्रेलियामा रहेर पनि नेपालमा आएको २०७२ को भुकम्प र कोरोनाबाट समस्यामा परेकालाई सहयोग गरेकी थिइन्।
एनआरएनए अष्ट्रेलियाले आफ्नो स्थापना कालदेखि प्रवासी नेपालीको हकमा र मातृभूमिको लागि पनि अतुलनिय काम गर्दै आएको छ। मेरो मान्यता यस संस्थालाई नेतृत्व दिन अनुभवी, लगनशील, बौद्धिक र ऊर्जाशील नेतृत्व आवश्यक रहेको छ उनले भनिन्।
विगत १४ वर्षदेखि आफूलाई सामाजिक सेवामा समाहित गरेको भन्दै सकेको सहयोग र सेवालाई निरन्तरता दिन एनएसडब्लुको संयोजक पदमा उम्मेदवारी दिएको बताइन्। उनले आफ्नो यो प्रयासलाई सार्थक तुल्याउन एनआरएनए एनएसडब्लुका मतदातालाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेकी छन्। उनी हाल एनआरएनए अष्ट्रेलियाको सचिव रहेकी छन्।
एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वका लागी २९ जुलाई शनिबार निर्वाचन हुँदैछ। अष्ट्रेलियाका सबै राज्यमा स्थानीय समय अनुसार बिहान नौ बजे देखी सुरु हुने मतदानको कार्यक्रम पाँच बजे समाप्त हुने छ भने राती नौ बजे नै नतिजा सार्वजनिक गर्ने योजना रहेको छ।
प्रतिक्रिया