मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा डिला खरेलले उम्मेदवारी घोषणा गरेका छन्। न्यू साउथ वेल्समा आइत्बार आयोजित एक समारोहकाबिच एनआरएन अभियन्ता खरेलले उम्मेदवारी घोषणा गरेका हुन्।
गुल्मीमा जन्मिएर चितवन थातथलो रहेका खरेल गएको १७ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका छन्। सन् २००६ मा अस्ट्रेलिया पुगेका खरेल अहिले लेखा, वित्त, कर र बीमा क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको एक कम्पनीको प्रमुख भएर काम गरिरहेका छन्। जुलाई २९ तारिखमा हुने एनआरएन अस्ट्रेलिया एनसीसीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका खरेलले आफूसँग स्पष्ट मिसन र भिजन भएकाले मत पाउने अपेक्षा गरेको बताए।
सन् २०१५ देखि २०१७ सम्मको कार्यकालमा कोषाध्यक्ष रहेका खरेलले विगतमा आफूले उठाउने पारदर्शीताको मुद्दालाई अबको कार्यकालमा पनि खरोरुपमा उठाउने प्रतिवद्धता जनाए। पछिल्लो समय नेपाली विद्यार्थीहरुको आकर्षक गन्तव्यको रुपमा रहेको अस्ट्रेलियामा समस्यामा पर्नेहरुलाई सहयोग गर्न विशेष योजना ल्याउने उनले बताएका छन्।
नेपाली समुदायलाई अष्ट्रेलियाको सरकारले राम्रो मान् । तर, नेपाल र नेपाली समुदायले त्यसको लाभ लिन सकेको छैन। अष्ट्रेलियाली सरकारसम्म पहुँच नहुँदा पनि त्यसो भएको हुनसक्ने उनको बुझाइ छ। अष्ट्रेलिया सरकारसँग समन्वय गरी नेपाल र नेपाली समुदायले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउने उनको अर्को अजेण्डा छ।
नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने उनको मुख्य अजेण्डा नै छ। दूतावासलाई थप प्रभावकारी बनाउने र प्रत्यक्ष वैदेशिक लगानी बढाउने योजना उनको छ। उद्यमी सम्मेलनको अन्तर्य ‘एक लगानीः एक रोजगारी’ नीतिको प्रभावकारी कार्यान्वयन पनि उनको अर्को अजेण्डा हो।
‘एनआरएनए सबैको साझा संगठन हो, यसलाई सबैको साझा बनाउने र नयाँ पुस्ताको पनि भरपर्दो संस्था बनाउने मेरो योजना छ’, उनले बताए। उनले ‘हाम्रो एनआरएन राम्रो एनआरएन’ बनाउन सहयोग गर्न अष्ट्रेलियावासी नेपालीहरुलाई अपिल पनि गरेका छन्।
डिला खरेलको प्यानलबाट एनसीसी सदस्यमा विस्नु ट्वीवारी उम्मेदवारी दिएका छन्। यस्तै साउथ अष्ट्रेलियाको संयोजक पदमा संजय पुरीले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी घोषणा कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका अगुवा, पत्रकारलगायतको उपस्थिति थियो।
प्रतिक्रिया