काठमाडौँ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७७ औँ जन्मदिन रहेको छ । जन्मदिनको अवसरमा राजावादीले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन्।
पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीले एक समितिनै गठन गरेका छन्। सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगेका थिए । पूर्वराजालाई शुभकामना र अभिनन्दन गर्नका लागि पुगे पनि ज्ञानेन्द्र नभेटिएपछि उनीहरू गेटबाटै पूर्वराजाका प्रतिनिधिलाई अभिनन्दन पत्र र पुष्पगुच्छा बुझाएर गेट बाहिरबाटै फर्किएका थिए । निर्मलनिवासमा ज्ञानेन्द्र नभएको भन्दै उनीहरूलाई गेटभित्र प्रवेश गर्न दिइएन्।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको बताए । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेका छन्।
बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनले जानकारी दिए।

प्रतिक्रिया