एनआरएनए अष्ट्रेलिया निर्वाचनको नतिजा दुई घण्टामै सार्वजनिक गरिने

एनआरएनए अष्ट्रेलिया निर्वाचनको नतिजा दुई घण्टामै सार्वजनिक गरिने


मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनको मतदान अनलाईनबाटै हुने भएको छ। एनआरएन अष्ट्रेलियाको निर्वाचन समितिले आज मेलबर्नमा पत्रकार सम्मेलनको आयोजन मतदान प्रणाली र निर्वाचन प्रक्रियाकारबारेमा जानकारी गराएको हो। 

निर्वाचन समितिका प्रमुख टोनु घोतानेले पूर्णरूपमा अनलाईनबाट हुने मतदानका लागि जुलाई २९ गते विहान ९ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको जानकारी दिए। उनले यसका लागि अष्ट्रेलियाको विभिन्न राज्य अनुसार इएसटी, एसइएसटी र डब्लुएसटीको समय अनुसार निर्वाचन सुरु र अन्त्य हुने बताए।  यदि कुनै मतदाताले अनलाईबाट मतदान गर्न नसकेको अवस्थामा अष्ट्रेलियाका आठ राज्यमा निर्वाचन स्थल पनि तोकेको उनले बताए। यदि त्यस्तो अवस्थामा आएमा मतदातालाई नजिकको निर्वाचन स्थलमा गएर मतदान गर्न सकिने उनले बताए। 

आठ स्टेटमा तोकिएका मतदान स्थलमा राज्य स्तरको निर्वाचन कमिटीका सदस्य र उम्मेदवारका प्रतिनिधिले मतदाताको भेरीफाई गरेर मात्र मतदानको सुविधा पाउने उनले जानकारी दिए। निर्वाचन सकिएको दुई घण्टाभित्र सम्पूर्ण नतिजा सार्वजनिक गर्ने गरी निर्वाचन समितिले तयारी गरिरहेको उनले बताए। उनले नतिजा प्रकाशनमा विगतको जस्तो ढिलासुस्ती नहुने गरी सम्पूर्ण निर्वाचन समितिले काम गरिरहेको बताए। 

निष्पक्ष र भयरहित निर्वाचन गराउने निर्वाचन समितिको मुख्य उद्देश्य रहेको भन्दै यस वर्ष मतदाताको प्रमाणीकरण र मतदान प्रक्रिया गरी दुई ओटा कुरालाई कडाइका साथ लागु गरिने उनले बताए। उनले मतदाता प्रमाणीकरणका लागि ७ जनाको समितिसमेत गठन गरिएको जानकारी दिए। 

उक्त पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य माधव खरेलको पनि उपस्थिति रहेको थियो। एनआरएनए अष्ट्रेलियाले निर्वाचनका लागि टोनु घातानेको नेतृत्वमा १७ सदस्यीय निर्वाचन कमिटि बनाएको थियो।