अष्ट्रेलियामा कार्यरत नेपाली पत्रकारसँग सहकार्य गर्न इच्छुक छौँ : सञ्चारमन्त्री शर्मा

अष्ट्रेलियामा कार्यरत नेपाली पत्रकारसँग सहकार्य गर्न इच्छुक छौँ : सञ्चारमन्त्री शर्मा


काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसियसन (एन्जा) का अध्यक्ष चिरञ्जीवी देवकोटाले शिष्टाचार भेट गरेका छन्। काठमाडौंको सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो।

भेटका क्रममा अध्यक्ष देवकोटाले अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरु र त्यहाँबाट सञ्चालित सञ्चारमाध्यमका विषयमा जानकारी गराएका थिए भने पत्रकारहरुको अष्ट्रेलियन अनुभव नेपाली पत्रकारिता क्षेत्रसँग साटासाट गर्ने वातावरण निर्माण गर्ने आफुहरुको प्रयास रहने बताएका थिए। अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन र नेपाल पत्रकार महासंघबीचको हुन लागेको सहकार्यका विषयमा पनि अध्यक्ष देवकोटाले अवगत गराएका थिए।

मन्त्री शर्माले पत्रकारिता क्षेत्रको श्रीबृद्धिमा एन्जासँग मिलेर काम गर्न मन्त्रालय ईच्छुक रहेको भन्दै यस सम्बन्धी योजनामा सहकार्य गर्ने वातावरण बनाउन भेटमा सहभागी सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार नरेन्द्र केसीलाई निर्देशन दिएकी थिइन्।

अष्ट्रेलियामा नेपाली भाषाको पत्रकारिताको प्रगतिको कामना गर्दै मन्त्री शर्माले सहकार्य र सहयोगका लागि मन्त्रालय सधै तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेकी थिइन्। भेटमा नेप्लीज अष्ट्रेलियन जर्नलिष्ट एशोसिएसनका संस्थापक सल्लाहकार मनऋषि धिताल पनि सहभागी थिए। धितालले एन्जाको नेतृत्व र सञ्चार तथा प्रविधि मन्त्रालयको पहिलो औपचारिक छलफलबाट सहकार्यको नयाँ आयाम सुरु हुने विश्वास व्यक्त गरेका थिए।