काठमाडौँ ।
साउदी अरबमा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको गोली हानी हत्या गरिएका छ। जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर बुधबार भएको उक्त घटनामा गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको अलजजिराले जनाएको छ।
समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए। त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो। त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरामा उल्लेख छ ।
मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन। साउदी प्रेस एजेन्सी (एसपीए)ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ।
यो घटनामा अमेरिकी नागरिकलाई केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया