मलाई निर्देशक बन्ने रहर थिएन : अभिनेता खनाल

मलाई निर्देशक बन्ने रहर थिएन : अभिनेता खनाल


काठमाडौँ ।

नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै छन्। उनले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए। तर पछि खनाललाई विषयवस्तुले ठुलो पर्दाको चलचित्रको निर्देशक बनायो। चाँडै नै उनले परिचयमा निर्देशक थपिँदैछ।

योजना बनाएर चलचित्र निर्देशनको यात्रा प्रारम्भ नगरेको अभिनेता खनाल बताउँछन्। ‘मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिएका थिए। त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो। त्यो पढेपछि यसलाई ठुलो पर्दामार्फत आमदर्शक र समाजसम्म पुर्याउनुपर्छ भन्ने लाग्यो’, उनले भने, ‘यो कथा ममार्फत नै भन्नुपर्छ भनेर निर्देशन गरे। मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा निकै अप्ठ्यारो हुन्थ्यो।’

आफूलाई कथा वाचक भन्न रुचाउने अभिनेता खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राखे। किनकी उहाँहरू अभिनयमा पोख्त हुनुका साथै चरित्रअनुसार उपयुक्त हुनुहुन्थ्यो। तर, उहाँहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन। 

‘मैले छायाङ्कनका क्रममा कुनै पनि कलाकारलाई अभिनय गरेर केही बताएन। केबल चरित्र र दृश्यलाई सम्झाए’, अभिनेता खनालले भने, ‘नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाए । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ।’

सयौँ चलचित्रमा अभिनय गरिसक्नुभएका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताउनुभयो । त्यसैले उहाँले एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका छन्। आफैँले धेरै चलचित्रमा सहकार्य गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरेका छन्। 

‘अघिल्ला चलचित्रमा अभिनेत्री मानन्धरको सुन्दरतामा धेरै चर्चा गरियो वा केन्द्रित भइयो। यद्यपि यसमा उनको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ। साथै नयाँ अभिनेत्री प्रमिला कार्कीले पनि आफूलाई अब्बल सावित गर्नुभएको छ’, उनले भने। चलचित्रको कथालाई नजिकबाट महसुस गरेको खनालको भनाइ छ।  

चलचित्रमा देखाइएको एकल महिलाले समाजमा गर्नुपरेको सङ्घर्षलाई आफ्नै परिवारमा देखेको खनालले बताए। उनले भने, ‘मेरो मामाकी छोरीको श्रीमान् बित्नुभएपछि एकल महिला बनिन्। त्यसपछि उनको जीवनशैली नै फेरियो। ती बहिनी एक्लो भएको मैले महससु गरेँ’, उनले भने, ‘बाहिरी रमाइलोमा उनको शरीर उपस्थित भए पनि मन खुसी थिएन। केही वर्ष अगाडि उनको पुनःविवाह भएपछि अहिले उनलाई छुट्टै पाउँछु। ती बहिनी बल्ल जीवन बाँचेकी छिन्।’

त्यही कथालाई पुस्तकमा पाएपछि खनाल आफैँले निर्देशन गर्ने योजना बनाए। आउँदा दिनमासमेत सामाजिक विषयवस्तुलाई ठुलो पर्दामा ल्याउने उनको योजना छ। यद्यपि खनालले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिनुभयो । चलचित्र ‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन्। 

स्वप्न नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफ एक्स तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन्। प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ।