काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ।
आइतबार नगरसभाको बैठकमा महानगररकी उपप्रमुख सुनीता डंगोलले आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।
उनका अनुसार चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ। जसअनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको स्रोतमा बैंक मौज्दात, संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान, आन्तरिक आय, राजस्व बाँडफाँटलगायतलाई लिएको छ।
महानगरको बैंक मौज्दान ११ अर्ब ७५ करोड रुपैयाँ रहेको जानकारी दिएकी उपप्रमुख डंगोलले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने बताइन्।
महानगरले सबैभन्दा धेरै शिक्षा र स्वास्थ्य क्षेत्रका लागि बजेट विनियोजन गरेको छ।
प्रतिक्रिया