काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकामा धन्यवाद ज्ञापन गरेको छ।
संघका उपाध्यक्ष आरके शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटी ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने ‘मार्गप्रशस्त’ भएकामा धन्यवाद ज्ञापन गरेको हो।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको समेत थालनी भएको जानकारी गराउँदै गैरआवासीय नेपालीका सुझावलाई मनन गरिने उल्लेख गरे ।
भेटका क्रममा प्रधानमन्त्री दाहालसँग विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन थप दायित्वबोध भएको उल्लेख गर्दै एनआरएनए उपाध्यक्ष शर्माले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्र सार्थक बन्नेमा विश्वास व्यक्त गरे। गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकता सम्बन्धी कार्यविधि बनाई कार्यान्वयनको चरणमा पुयाउन आग्रह गरे।
प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली संघमार्फत धन्यवाद व्यक्त गरेकोमा खुशी व्यक्त गर्दै लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणिकरण भएको बताए। साथै उनले नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको समेत थालनी भएको जानकारी गराउँदै गैरआवासीय नेपालीहरुका सुझावलाई मनन गरिने बताए।
एनआरएनएले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानको लागि समेत अनुरोध गरे। भेटका क्रममा उपाध्यक्ष शर्माले साना–साना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी क्लिन इनर्जी तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा सुनिश्चित प्रतिफल सहितको लगानीको वातावरण बनाउन अनुरोध गरे।
उनले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिए। प्रधानमन्त्री दाहालले एक पटकको नेपालीले सधै नेपाली भइरहन र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको र आगामी दिन थप सशक्त रुपमा अघि बढ्न एनआरएनएका प्रतिनिधिलाई आग्रह गरे।
भेटका अवसरमा उपस्थित कानुन सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिँदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताए। सो अवसरमा महान्यायधिवक्ता डा. दिनमणी पोखरेलको समेत उपस्थिति रहेको थियो ।
पोर्चुगल, माल्टा र इराकमा यथाशक्य छिटो दूतावास स्थापना गरी त्यहाँ रहेका नेपालीहरुका समस्या समाधानका लागि संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण समेत गराएको छ ।
भेटका क्रममा उपाध्यक्ष आर. के शर्मा, संस्थापक भीम उदास, टि. बि कार्की (पुर्व उपाध्यक्ष), गोविन्द प्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए) , भिमसेन थापा (पोर्चुगल), बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), सरोज दाहाल र रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत) लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया