काठमाडौँ ।
पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ।
प्रतिनिधि सभामा जलहरीमा लगाइएको धातु सुन हो वा पित्तल भन्ने विवाद भएपछि कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सरकार वा संसद्ले समिति बनाएर तौल र सुनको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका हुन्।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिहेकामा आयोगलाई पनि तौल र गुणस्तर परीक्षण गर्न आग्रह गरेको उनले बताए। तर कुनै निकायबाट पनि सो काम नहुँदा विवाद निरूपण नभएको उनले बताए। मुचुल्का उठाउने क्रममा कोषका तर्फबाट भएको त्रुटिका कारण सुरु भएको विवादलाई आधार मानेर अख्तियारले अनुसन्धान गरिरहेको दाबी उनको छ।
अख्तियारले २०७८ देखि सुरु गरेको अनुसन्धानमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र पूर्वपदाधिकारीलाई बयान लिएको छ। तर यो विषय अझै टुङ्गिएको छैन। अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान जारी रहेको बताएको खबर आजको गोरखापत्रले लेखेको छ।
जलहरीमा प्रयोग भएको सुनको वैज्ञानिक ढङ्गले परीक्षण गर्ने र जलहरीको तौल गर्ने जस्ता वस्तुगत विषयमा प्रवेश नभएको उनले बताए।

प्रतिक्रिया