काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ । सरकारी वकिलले आजबाट पूर्वमन्त्री खाँण पक्राउको विषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो ।
‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के के निर्णय दियो ? लगायतको विषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजबाट पक्राउ पर्नुको कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने । उनका अनुसार आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता र उनका सहयोगीहरूका बारेमा पनि सोधपुछ गरिने छ ।
बुधवार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पूर्व गृहमन्त्री खाँणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले चार दिनको समय दिइसकेको छ । अदालतले दिएको समय सीमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ ।
आज रातभर प्रहरी कस्टडीमा बिताएका पूर्व गृहमन्त्री खाँणसँग आज बिहान १० बजे पछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाइएको छ ।
बुधवार झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाँणले सरकारी वकिल समक्ष आफ्नो पक्राउ बारेमा सामान्य जानकारी दिएका थिए ।
प्रतिक्रिया