भ्रष्टाचार नियन्त्रणको नयाँ लडाई सुरु भयो, रेकर्ड बनाएरै छाड्छुः प्रधानमन्त्री दाहाल

भ्रष्टाचार नियन्त्रणको नयाँ लडाई सुरु भयो, रेकर्ड बनाएरै छाड्छुः प्रधानमन्त्री दाहाल


काभ्रे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताएका छन् । उनले यो लडाईका निम्ति जनयुद्धको जस्तै साथ सबैबाट पार्टी र आफूलाई चाहिएको पनि बताएका छन् ।

काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने प्रष्ट पारे ।

उनले यस्का लागि आम नेपालीबाट हिजोको जस्तो साथ सहयोग आवश्यक भएको पनि प्रष्ट पारे । उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउँदै अन्यायमा परेकालाई न्याय, अधिकारविहीनलाई अधिकार र पछि पारिएकाहरुलाई समानता दिन आफु कटिबद्ध रहेको बताए ।

देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारको अन्त्य नभएसम्म नेपाली जनताले सुख र समृद्धिको दिन देख्न नपाउने बताए ।

जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा बिद्युत बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको जानकारी दिए ।