अष्ट्रेलियामा नेपालीको मिनी ओलम्पिक, क-कसले पाए गोल्ड मेडल ? (सूचिसहित)

अष्ट्रेलियामा नेपालीको मिनी ओलम्पिक, क-कसले पाए गोल्ड मेडल ? (सूचिसहित)


क्यानबेरा । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजना गरिएको ओसेनिया नेप्लीज स्पोर्टस मिट २०२३ सम्पन्न भएको छ । कूल १० खेल विधामा सञ्चालन गरिएको स्पोर्टस मिटमा अष्ट्रेलियाका विभिन्न राज्यसहित न्यूजिल्याण्डबाट समेत खेलाडी सहभागी भएका थिए । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सबैभन्दा बढी मेडल जित्दै न्यूसाउथवेल्स राज्यको टिम प्रथम भएको छ भने दोश्रोमा भिक्टोरियाको खेल टिम आउन सफल भएको छ ।

न्यूसाउथवेल्स प्रथम, भिक्टोरिया दोश्रो

कूल खेलमा २८ स्वर्ण पदक, १३ कास्य पदक र ८ रजत जित्दै न्यूसाउथवेल्स पहिलो हुँदा भिक्टोरियाले ९ वटा स्वर्ण पदक, ८ कास्य र ४ रजत जित्न सफल भएको छ । यस्तै अष्ट्रेलियन क्यापिटल टेरेटोरीको खेलाडी सम्मिलित टिमले ५ वटा स्वर्ण पदक, १२ वटा कास्य पदक र ३ वटा रजत पदक जित्न सफल भएको छ । उता क्वीन्सल्याण्ड तीन स्वर्ण पदक, ५ कास्य पदक र ४ रजत पदक जित्न सफल भएको छ । यस्तै साउथ अष्ट्रेलिया दुई स्वर्ण पदक, दुई कास्य पदक, तीन रजत पदक जित्न सफल भएको छ । न्यूजिल्याण्डबाट आएका खेलाडीहरुको टोलीले एउटा स्वर्ण पदक दुई वटा कास्य पदक र दुईवटा रजत पदक जितेका छन् । तास्मानियाका खेलाडीहरुले एउटा स्वर्ण पदक, २ वटा कास्य पदक र एउटा रजत पदक जितेका छन् । उता वेष्टर्न अष्ट्रेलियाबाट सहभागीमध्येबाट दुईवटा कास्य पदक जित्न सफल भएका छन् ।

यस्तो छ तालिका

अप्रिलको ७ देखि १० तारिखसम्म सञ्चालित प्रतियोगिताको उद्घाटन अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले गरेका थिए । स्थानीय ग्रेहाउन्ड रेसिंग क्लबमा आयोजित उद्घाटन समारोहमा बोल्दै राजदूत पोखरेलले खेलको माध्यमबाट समूदायलाई एकीकृत गर्ने कार्य प्रशंसनीय रहेको बताएका थिए । कार्यक्रमको समापन तथा पुरस्कार र पदक वितरण क्यानबेराको अल्बर्ट हलमा गरिएको थियो । जसमा प्रमुख आकर्षण अष्ट्रेलियन फुटबल खेलाडी तथा हालका सेलिब्रेटी प्रस्तोता क्रेग फोष्टर थिए ।

सन् २०२५ मा पर्थमा भेट्ने बाचासहित छुटेका नेपाली खेलाडीहरुले पहिलो पटक क्यानबेरामा यति ठूलो खेल प्रतियोगिता सञ्चालन गरेका हुन् । स्वयंसेवकहरुको कमीका कारण केही अव्यवस्थित देखिएपनि खेल भावनामा भने प्रतियोगिता उत्कृष्ट देखिएको थियो । क्यानबेरामा ईनोभेटिम एशोसिएट्सले मुख्य प्रायोजन गरेको प्रतियोगिताका विभिन्न खेल विधामा छुट्टा छुट्टै प्रायोजक समेतलाई समेटिएको थियो ।

  • समूह चरणका खेलहरुको नतिजा यस्तो
  • क्रिकेटतर्फ : साउथ अष्ट्रेलिया टिम प्रथम
  • बास्केटबलतर्फ : भिक्टोरिया टिम प्रथम
  • फुटबल खुल्ला तर्फ : न्यूसाउथवेल्स टिम प्रथम
  • फुटबल भेटेरानतर्फ : न्यूसाउथवेल्स टिम प्रथम
  • भलिबलतर्फ : न्यूसाउथवेल्स टिम प्रथम

स्वर्ण पदक जित्ने खेलाडीहरु

व्याण्डमिन्टनतर्फ न्यूसाउथवेल्सका पुरुष खुल्लामा जगत बयमजु र सुशील गिरीले स्वर्ण जितेका छन् । यस्तै पुरुष खुल्ला एकलतर्फ तास्मानियाका सञ्जीव खड्काले स्वर्ण जित्न सफल भए । उता मिक्स डबलतर्फ न्यूसाउथवेल्सका जेम्स राई र स्वेता राई, ४५ वर्षमाथि जोडीतर्फ न्यूसाउथवेल्सका सन्जय श्रेष्ठ र शमशेर थापाले स्वर्ण जित्न सफल भए । उता ४५ वर्षमाथि एकलतर्फ न्यूजिल्याण्डका केश गुरुंगले स्वर्ण पदक जितेका छन् । महिला एकलतर्फ भिक्टोरियाकी सियोना साह १५ वर्षमुनी युवातर्फ भिक्टोरियाका आर्यभ साहले स्वर्ण पदक जिते ।
उता लन टेनिसतर्फ पुरुष खुल्लामा न्यूसाउथवेल्सका विनित श्रेष्ठ, ३५ देखि ४५ वर्ष समूहमा साउथ अष्ट्रेलियाका भेषबहादुर थापा, ४५ वर्षमाथिको समूहबाट न्यूसाउथवेल्सका विष्णु हमाल, पुरुष जोडीतर्फ न्यूसाउथवेल्स्का विष्णु हमाल र ज्योति राजभण्डारीले स्वर्णपदक जितेका छन् ।


यस्तै गल्फर्त हार्डेष्ट गल्फर न्यूसाउथवेल्सका अजय क्षेत्री, नियरेष्ट टु दि पिन भिक्टोरियाका जोग लिम्बु, लंगेष्ट ड्राईभ क्वीन्सल्याण्डका कमल गुरागाईं, ह्यान्डीक्याप १९ तर्फ न्यूसाउथवेल्का दिपक पहारी, ह्यान्डीक्याप १८ तर्फ न्यूसाउथवेल्सका रविन भुजेल स्वर्ण पदक जित्न सफल भएका छन् । यस्तै पौडीतर्फ सर्वोत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा न्यूसाउथवेल्सकी रिया राना बुढा र उत्सव पन्त, भिक्टोरियाका आर्यभ साह, अजेलिया मास्के, रियारत्न बुढा, समिक पन्त, यशश्वी कक्षपति रुविना राना, क्वीन्सल्याण्डका नितिका कोइरी, एसीटीका भिरज बानियाँ, बेलबहादुर रानाले स्वर्ण जितेका छन् ।
उता ५ किलोमिटर दौडमा १४ वर्षमुनीतर्फ न्यूसाउथवेल्सका उत्सव पन्त, १४ वर्षमुनी महिलातर्फ क्यानबेराकी रेभा अधिकारी, पुरुष खुल्लातर्फ क्यानबेराका राजन अर्याल, महिला खुलातर्फ भिक्टोरियाकी सिहिका बस्नेत, पुरुष ३५ देखि ४९ वर्ष समूहमा भिक्टोरियाका कृष्ण कँडेल, पुरुष ५० वर्षमाथिमा न्यूसाउथवेल्सका गणेश श्रेष्ठले स्वर्ण जित्न सफल भएका थिए ।