नेपालमा बुधबारदेखि बाघ गणना हुँदै

नेपालमा बुधबारदेखि बाघ गणना हुँदै


काठमाडौं, २८ मंसिर । नेपालमा बुधबारदेखि बाघ गणना हुने भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । भोलिदेखि बर्दियाबाट बाघ गणना सुरु गरिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
क्यामेरा ट्र्यापिङ प्रविधिबाट बर्दिया–बाँके कम्प्लेक्समा बाघ गणना सुरु गर्ने तयारीका साथ गणनामा खटिनेहरूका लागि दुई दिनको विशेष तालिम दिइसकिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्वारामा एक औपचारिक कार्यक्रमको आयोजना गरी भोलिदेखि बाघ गणनामा खटिने गणक टोली बर्दिया निकुञ्ज भित्र प्रवेश गर्ने उहाँले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गर्ने गरिन्छ । राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशैभरिका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको सङ्ख्या पत्ता लगाउने उद्देश्यले देशभर तीन वटा कम्प्लेक्समा क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु गर्न लागिएको हो ।
मङ्सिर १९ गतेदेखि चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको र चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सकिएलगत्तै शुक्लाफाँटा कम्प्लेक्समा बाघ गणना सुरु गरिने निकुञ्जले जनाएको छ ।
यसअघि सन् २००० मा बर्दिया राष्ट्रिय निकुञ्जमा ४० वटा बाघ रहेकामा द्वन्द्वकालका बेला चोरी सिकारका कारण सन् २००९ को बाघ गणनामा यो सङ्ख्या घटेर १८ पुगेको थियो । यस्तै सन् २०१३ मा गरिएको गणनामा बाघको सङ्ख्या बढेर ५० र सन् २०१८ को गणनामा अझ बढेर ८७ पुगेको तथ्याङ्क निकुञ्जले सार्वजनिक गरेको थियो ।
सन् २०१८ को बाघ गणनामा बर्दिया निकुञ्जमा ८७ र नेपालकै सबैभन्दा कान्छो ११ वर्षअघि मात्रै घोषण भएको राष्ट्रिय निकुञ्ज बाँकेमा २१ वटा वयस्क बाघ रहेका थिए । सन् २०१८ को बाघ गणनाबाट बर्दिया–बाँके कम्प्लेक्समा एक सय आठ वटा वयस्क बाघ रहेको तथ्याङ्क छ ।
बर्दिया र बाँके राष्ट्रिय निकुञ्जका बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा बाघ गणना गरिने निकुञ्जले जनाएको छ । दुई किलोमिटर लम्बाइ र चौडाइको क्षेत्रलाई एउटा ग्रिड मानिन्छ र हरेक ग्रिडमा दुई वटा क्यामेरा राखिन्छ ।
हरेक दुई किलोमिटरको दुरीमा राखिएका क्यामेराले खिचेको फोटोबाट बाघका पाटा हेरेर गणना गरिने गरिन्छ । कुनै पनि वन्यजन्तुले ओहोरदोहोर गरेमा स्वचालित क्यामेराले तस्बिर लिन्छ ।
एक ठाउँमा १५ दिनसम्म झन्डै चार सय वटा क्यामेरा राखेर तस्बिर लिइन्छ । स्वचालित तरिकाबाट वन्यजन्तुको तस्बिर खिच्ने क्यामेराहरू १५ दिनपछि अर्को ब्लकको ग्रिडमा राखिन्छ । एक ठाउँबाट अर्को ठाउँमा राख्दा २० देखि २२ दिन लाग्ने भएकाले झन्डै तीन महिना लाग्ने प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ ।
बर्दिया–बाँके कम्प्लेक्समा रहेका बाघको सङ्ख्या गणनाका लागि सात सय बाइस ग्रिडमा क्यामेरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।साथै बाघ गणना अवधिभर क्यामरा छुने÷हटाउने काम नगर्न निकुञ्ज प्रशासनले सबैलाई अनुरोधसमेत गरेको छ ।