नेपालमा पनि भेटियो कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट !

नेपालमा पनि भेटियो कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट !


काठमाडौं, २० मंसिर । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई जनामा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो पटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितमा कुनै लक्षण नभएको बताउनुभयो । सहप्रवक्ता अधिकारीकाअनुसार संक्रमित दुवै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेका र उनीहरूको सम्पर्कमा आएकाहरूलाई मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरी छुट्याएर राखेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।
सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘अहिले पछिल्लो समय नयाँ भेरियन्टका रूपमा ओमिक्रोन देखिएको छ । यो भेरियन्ट अहिलेसम्म ३५ देशमा पाँच सय ७४ जनामा पुष्टि भएको छ । यिनै कुरालाई मध्यनजर गरेर नेपालमा विदेशबाट आउने मानिसहरूमा स्वास्थ्य अवस्था गम्भीर हुन सक्ने, अरू व्यक्तिमा सङ्क्रमण सर्न सक्ने कुरालाई मध्यनजर गरेर हामीले निगरानी बढाएका छौँ । अहिले विदेशबाट आउने व्यक्तिहरूलाई क्वरेण्टीनमा राख्ने परीक्षण गर्ने, रिपोर्ट पोजेटिभ आए त्यसको सिक्वेन्सिङ गर्ने कामलाई बढाएका छौँ ।’
सहप्रवक्ता अधिकारीले सरकारले विभिन्न नाकामा निगरानी बढाएको बताउनुभयो । उहाँले यो भेरियन्टको लक्षण र असर पहिलेको भाइरस सरह नै भएको बताउनुभयो । सहप्रवक्ता अधिकारीले यसबाट बच्न मास्क लगाउने, सरसफाइमा ध्यान दिने, भौतिक दुरी कायम गर्ने, हात धुने काम गर्नुपर्ने बताउनुभयो । उहाँले यसबाट जनस्वास्थ्यको सुरक्षाका लागि सरकारले खोपको व्यवस्थापन, स्वास्थ्यका मापदण्डमा केन्द्रित भएको र आवश्यक अस्पताल, शय्या र भेन्टिलेटर आदिको व्यवस्था पनि गरेको बताउनुभयो ।
सहप्रवक्ता अधिकारीका अनुसार छिमेकी देश भारतमा नयाँ भेरियन्टका सङ्क्रमित बढिरहेकाले नेपालमा पनि सङ्क्रमित बढ्न सक्ने सम्भाव्यतालाई मध्यनजर गरी विदेशबाट आउने नागरिकहरूलाई क्वरेण्टीनमा राख्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले नयाँ भेरियन्टबाट बच्नको लागि देशभित्रै रहेका मानिसहरूले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेमा सङ्क्रमण बढ्नबाट रोक्न सकिने बताउनुभयो ।