अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध


काठमाडौं, १७ कात्तिक । अफगानिस्तानको तालिवान सरकारले विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको हो । तालिवान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेर गरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ । ‘इस्लामिक इमिरेट्स ९तालिवान०को आग्रह छ कि, सबै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अब उप्रान्त विदेशी मुद्रा प्रयोग नगर्नु होला, यो अनुरोधलाई वेवास्ता गरेमा कारबाही हुनेछ,’ निर्देशनात्मक सूचनामा भनिएको छ ।
तालिवान प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिवान सरकारले यस विषयलाई अति महत्व र गम्भीरतापूर्वक लिएको जानकारी दिए । अफगानिस्तानको बजारमा अमेरिकी डलर विदेशी विनिमयको एक सशक्त माध्यम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसैगरी पाकिस्तानजस्ता सिमाना जोडिएका मुलुकका मुद्रा पनि प्रयोग हुने गरेको जनाइएको छ । सरकारको पछिल्लो निर्णयले त्यसलाई समेत प्रभावित पार्ने भएको छ । सरकारले विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध लगाएपछि विदेशी मुद्रा रहेकाहरूलाई मर्का पर्ने भएको छ । यसले केही समय उपभोक्ताहरूलाई अफ्ठ्यारो पनि पार्ने भएको छ ।