मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियामा नेपालीहरुको ईतिहास धेरै लामो छैन । दुई देशकै सम्बन्ध स्थापनाको मात्र ६ दशक पूरा भएको छ । अझ बाक्लोगरी नेपालीहरुले अष्ट्रेलियालाई गन्तव्य बनाउन लागेको मात्र दुई दशकभन्दा केही बढी भएको छ । मुख्यतः यहाँ आउने नेपालीहरु विद्यार्थी नै हुन् । विस्तारै पढाईसँगै रहँदाबस्दा यतै रमेर यहीँका भएकाहरु नै अधिकांश छन् । त्यस्तै अन्य विविध कारणबाट यहाँ आउँदा बेग्लै परिवेश अनि रहनसहनकाबीच उनीहरुले भोग्नुपरेको यथार्थलाई चित्रण गर्ने उद्देश्यले प्रकाशन गरिएको संग्रह ‘नेप्लीज ओमन्स टेल्स अफ रेजिलियन्स’ मेलबर्नमा सार्वजनिक गरिएको छ । दिदीबहिनी समाज अष्ट्रेलियाको पहलमा प्रकाशित यस पुस्तकमा संस्थाकी अध्यक्ष डा. जमुन पराजुलीसहित ३९ महिलाहरुले आफ्नो संघर्षको दिनहरुलाई स्मरण गरेका छन् । अधिकांश कथामा संघर्षले कसरी सफलतामा प्रेरित गर्न सक्यो भन्ने कुरा पढ्न पाईन्छ ।
स्थानीय ग्लेनरोय कम्युनिटी हबमा आयोजना गरिएको कार्यक्रकमा भिक्टोरियाका महिला मन्त्री नटाली हचिन्सले पुस्तक सार्वजनिक गरिन् । उक्त अवसरमा भिक्टोरियन मल्टिकल्चरल कमिशनकी अध्यक्ष भिभियन न्यूगिन लगायतले पुस्तकमा समेटिएका कथाहरुले आफुहरुलाई प्रभावित गरेको प्रतिक्रिया दिएका थिए ।
दिदीबहिनी समाज भिक्टोरिया मेलबर्नमा सक्रिय सामाजिक संस्था हो भने पुस्तकमा यसको परिचय समेत समावेश गरिएको छ । नेपाली र अंग्रेजी भाषामा लेखकहरु डा. जमुना पराजुली, प्रभा श्रेष्ठ, वर्षा राजभण्डारी, अनामिका श्रेष्ठ, गीता थापा, मनोरमा साह, बबिता पौडेल, अन्जु श्रेष्ठ, निरु त्रिपाठी, मनिता खनाल, पुनम कुँवर, अनीता भण्डारी, संगीता तिमल्सिना, डा. प्रज्ञा गर्तौला, कमला चालिसे, रेटिना श्रेष्ठ, पिंकी साही, सपुना पौडेल, रोशनी श्रेष्ठ, प्रभाथी बरुवाल, बी गुरुंग, रीजा खनाल, मनुमाया गौतम, लक्ष्मी पोखरेल, रीता लामिछाने, गिरिजा श्रेष्ठ, कीर्ति महर्जन, अनीता चित्रकार, ज्योति सिंखडा, डा. स्मृति घिमिरे, अन्जना नेपाल, दुर्गा पराजुली, सहनशीला रिजाल, रमा घिमिरे, पार्वती पहारी, पूर्णलक्ष्मी गुभाजु, रन्जु श्रेष्ठ र दुई नाम परिवर्तित लेखकहरुका संघर्षका कथा यसमा पढ्न पाईन्छ ।
पुस्तकमा मुख्यतः नेपाली नारीहरुले अष्ट्रेलियाको भूमिमा गरेको संघर्षलाई उजागर गरिएको छ भने कतिपय लेखमा मानसिक तनाव, शारीरिक हिंसा, व्यवहारगत भेदभाव लगायतका अनुभवहरु पनि समेटिएका छन् ।
पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष डा. पराजुलीले पुस्तक प्रकाशन गर्नका लागि खटिएको टिमलाई धन्यवाद दिएकी थिइन् । यस्तै पुस्तकमा लेख समावेश भएका लेखकहरुको उपस्थितिमा प्रमुख अतिथि मन्त्री हचिन्स र बहुसांस्कृतिक आयोगकी अध्यक्ष न्यूगिनले संयुक्त रुपमा गरेका थिए । उक्त अवसरमा पुस्तक अष्ट्रेलियाका विभिन्न पुस्तकालयहरुको लागि हस्तान्तरण पनि गरिएको थियो । उक्त अवसरमा पुस्तकमा समेटिएका केही कथाका अंशलाई वाचन समेत गरिएको थियो ।
दिदीबहिनी समाजले पुस्तक विमाचेनलाई महिलाहिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजना गरेको जनाएको छ । उक्त अवसरमा दिदीबहिनी समाजले गएको १० वर्षमा गरेका विविध कार्य समेटिएको भिडियो समेत देखाइएको थियो ।
प्रतिक्रिया