एक लाख डोज फाइजर खोप सोमबार आइपुग्ने

एक लाख डोज फाइजर खोप सोमबार आइपुग्ने


काठमाडौं, ७ कात्तिक । अमेरिकाबाट १ लाख ६ सय २० डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।

नेपालमा अहिलेसम्म १८ वर्ष उमेर समूह माथिका नागरिकलाई मात्र कोरोनाविरुद्धको खोप दिइएको छ । अब अमेरिकाले पठाउने फाइजर खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई दिइने छ । सरकारले १२ वर्षमाथिका बालबालिकालाई खोप दिने प्रतिबद्धता जनाएको थियो । सोही अनुसार पहिलो चरणमा १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई खोप दिइने भएको हो ।