भिक्टोरिया र न्यूसाउथवेल्समा घट्दै दैनिक कोरोना संक्रमण, अब यात्रा अनुमति

भिक्टोरिया र न्यूसाउथवेल्समा घट्दै दैनिक कोरोना संक्रमण, अब यात्रा अनुमति


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको न्यूसाउथवेल्स र भिक्टोरिया राज्यमा केही दिनदेखि कोरोना भाईरसको संक्रमण घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा न्यूसाउथवेल्समा जम्मा २ सय ८३ नयाँ संक्रमित भेटिएका छन् भने भिक्टोरियामा यो संख्या १८ सय ४१ रहेको छ । यो अघिल्ला दिनहरुका भन्दा कम हो ।

आजबाट यी दुई राज्यका बासिन्दाहरुले भ्रमण समेत गर्न पाउने भएका छन् । भिक्टोरियाले न्यूसाउथवेल्सका रेडजोनहरु हटाएपछि अब भिक्टोरिया आउने न्यूसाउथवेल्स वासीले १४ दिने क्वारेन्टीनको सामना गर्नुपर्ने छैन । रेडजोन हटाएपनि यसलाई ग्रीनजोन भने बनाइएको छैन । यसको अर्थ हुन्छ पूर्णत दुबै डोजन खोप लगाएकाहरुले कुनै परीक्षण गर्न पर्ने छैन तर खोप नलगाएको हो भने आइपुगेको ७२ घण्टाभित्र परीक्षण गरी त्यसको नतिजापछि मात्रै घर बाहिर निस्किन पाइनेछ ।

भिक्टोरियामा गएको २४ घण्टामा फेला परेका संक्रमितमध्ये एकजना अन्तर्राष्ट्रिय यात्री छन् । यो अवधिमा ७८ हजार ९ सय २८ परीक्षणका नतिजाहरु प्राप्त भएका थिए यस्तै ३८ हजार ८ सय ८१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् भने हालसम्म राज्यमा ४२ लाख ७३ हजार २ सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य विभागले जनाएको छ । एकैदिन १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।