न्यूसाउथवेल्स र भिक्टोरियामा कोरोनाका कारण एकैदिन १७ जनाको मृत्यु

न्यूसाउथवेल्स र भिक्टोरियामा कोरोनाका कारण एकैदिन १७ जनाको मृत्यु


मेलबर्न, अष्ट्रेलिया ।

गएको २४ घण्टामा न्यूसाउथवेल्स र भिक्टोरिया राज्यमा कोभिड १९ कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । जसमा ४ जना न्यूसाउथवेल्सवासी र बाँकी भिक्टोरियामा बासोबास गर्नेहरु रहेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार मंगलबार राति ८ बजेसम्मको तथ्यांक अनसार न्यूसाउथवेल्समा ४ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १ लाख ५ हजार ५ सय ८ परीक्षणका नतिजाहरु प्राप्त भएका थिए ।

गएको सोमबार केही प्रतिबन्ध खुकुलो बनाइएको थियो भने एक सातापछि कूल ८० प्रतिशत पहिलो डोज खोप लगाएकाहरु भएपछि थप प्रतिबन्ध खुकुलो बनाइने भएको छ ।

भिक्टोरियामा गएको २४ घण्टामा १३ जनाको ज्यान गएको छ भने १५ सय ७१ नयाँ कोरोना संक्रमित फेला परेका छन् । ७९ हजार २ सय परीक्षणका नतिजामा यस्तो तथ्यांक आएको हो । गएको २४ घण्टामा नै ३८ हजार ७२ जनाले कोभिड १९ कोरोना विरुद्धको खोप लगाएका छन् । हाल भिक्टोरियामा २९ बालबालिकाहरुलाई कोरोनाको कारण अस्पताल भर्ना गरिएको छ ।