रोकिएन भिक्टोरियामा कोरोना संक्रमित भेटिने क्रम, बिहीबार १८ सय ३८ नयाँ थपिए

रोकिएन भिक्टोरियामा कोरोना संक्रमित भेटिने क्रम, बिहीबार १८ सय ३८ नयाँ थपिए


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा यतिबेला लकडाउनको अवस्था छ । कोभिड १९ कोरोना भाईरसको संक्रमणलाई रोक्न लगाइएको यो लकडाउन पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणले अनिश्चित तुल्याइदिएको छ । गएको २४ घण्टामा मात्रै १८ सय ३८ नयाँ कोरोना संक्रमित थपिएको र पाँच जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएपछि स्थिति अन्योलपूर्ण बनेको हो ।

स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १६ हजार ८ सय २३ पुगेको छ । गएको २४ घण्टामा ७७ हजार ५ सय ५४ परीक्षणका नतिजा प्राप्त भएका थिए । यस्तै ३६ हजार ६ सय भिक्टोरियावासीले कोभिड १९ कोरोनाविरुद्धको खोप लगाएका छन् ।

संक्रमितको संख्या बढेसँगै निराशाजनक अवस्थामा राज्यको कूल खोप लगाउन तोकिएको वयष्कहरुमध्ये ८४ प्रतिशतले पहिलो डोज लगाइसकेको तथ्यांकले भने केही राहत दिएको छ । यस्तै दोश्रो डोज खोप लगाउनेको संख्या ५५ प्रतिशत पुगेको छ । राज्यमा ८० प्रतिशत कूल खोप लगाउनेको संख्या पुगेसँगै आगामी अक्टोबर २६ तारिखदेखि लकडाउनलाई खुकुलो बनाउने योजना छ ।

यसैबीच, राज्य सरकारले विभिन्न पेशामा आबद्ध रहेका व्यक्तिहरुलाई प्राथमिकताका आधारमा कुनै बुकिंगविना नै खोप लगाउने कार्य अन्तर्गत आज अपांगता भएका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । यस्ता व्यक्तिहरुले सरकारले बनाएका विभिन्न अस्थायी खोप केन्द्रहरुमा गएर खोप लगाउन सक्नेछन् ।