बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्कियो, २० भन्दा बढी व्यक्ति फसेको आशंका

बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्कियो, २० भन्दा बढी व्यक्ति फसेको आशंका


एजेन्सी । अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले मङ्गलबार जनाएको छ।

पानीजहाजको ठक्करका कारण ‘आई–६९५ कि ब्रिज’ मा आंशिक क्षति पुगेको प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अन्तरराज्य राजमार्ग प्रशासनलाई उद्धृत गरी साझा गरेको पोस्टमा उल्लेख गरिएको छ। प्राधिकरणले भिडियोमार्फत सवारी चालकहरूलाई पटाप्सको नदीको पुल प्रयोग नगर्न निर्देशन दिएको छ।

प्राधिकरणले पुलमा भएको क्षतिका कारण पुलको दुवै तर्फका सडकहरु बन्द गरिएको जनाएको हो।

बाल्टिमोर प्रहरी विभागका प्रहरी प्रवक्ताले एनबिसी न्यूजलाई दुर्घटनामा परेका मानिसहरू नदीमा रहेको हुन सक्ने बताएका छन्। स्थानीय अधिकारीका अनुसार दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेका छन्।

बाल्टिमोर सिटी प्रहरीलार्ई मङ्गलबार बिहानै जहाजको ठक्करका कारण करिब १ः३५ मा पुल भत्किएको सूचना आएको बाल्टिमोर प्रहरीका निकी फिनोयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ।

पानीजहाजहरूको अनुगमनबारे जानकारी दिने वेबसाइट ‘मरिन ट्राफिक’ ले मङ्गलबार बिहान डाली नामक सिङ्गापुरको ध्वजा बहाक कन्टेनर दुर्घटनाग्रस्त पुलमुनि रोकिएको देखाएको थियो।

बाल्टिमोरका मेयर ब्रान्डन स्कुट र बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सेव्स्की जुनियर दुवैले घटनाबारे जानकारी पाएपछि तत्काल उद्धार कार्यका लागि उद्धारकर्मी खटाइएको बताएका छन्।

यसैगरी प्रभावितहरूको जीवन रक्षाका लागि प्रार्थना गरिदिन ओल्सेव्स्कीले सामाजिक सञ्जाल एक्समार्फत आह्वान गरेका छन्।