इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै

इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै


काठमाडौँ ।

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ को अग्रता लिएका छन्। फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ।

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १६ हजार नौ सय ४४ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार दुई सय ७३ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४४ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले दुई हजार आठ सय तीन मतसहित चौथो स्थानमा छन्। मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बूले चार सय ६९, नेकपा (एकीकृत समाजवादी)का जितबहादुर राईले तीन सय २५ र राप्रपाका लक्ष्मी गुरुङले एक सय २६ मत प्राप्त गरेका छन्।

छ वटा पालिका रहेको सो क्षेत्रको अहिले देउमाई नगरपालिका ६, ७ र ८ को मतगणना भइरहेको छ। इलाम नगरपालिकाको गणना गर्न बाँकी छ। एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो।