दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ


नयाँ दिल्ली ।

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। शराव घोटाला काण्डमा पटक–पटक बयान दिन बोलाउँदा नआएपछि उनलाई बिहीबार राति भारतीय प्रवर्तक निर्देशनालय ईडीले पक्राउ गरेको हो।

केजरीवालविरुद्ध ईडीको टोली सर्च वारेन्ट लिएर घर पुगेको थियो। घरमै २ घण्टासम्म सोधपुछ गरेपछि नियन्त्रणमा लिइएको थियो। बिहीबार दिउँसो उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेपछि सुरक्षा तयारीका साथ ईडीको टोली उनको निवास पुगेको थियो।

ईडीले लगातार नवौं पटकसम्म बयानका लागि उपस्थित हुनका लागि आग्रह गर्दा केजरीवाल गएका थिएनन्। उल्टै ईडीविरुद्ध अदालत गएका उनको अपिल विहीबार खारेज भएपछि ईडीले नियन्त्रणमा लिएको हो।

केजरीवालको पार्टी आम आदमीले सर्वोच्च अदालतमा अपिल गर्दै तत्काल सुनुवाइ गर्न पनि माग गरेको छ। मुख्यमन्त्री पक्राउ परेपछि दिल्लीकी शिक्षा मन्त्री आतिशीले केजरीवाल नै दिल्लीको मुख्यमन्त्री रहने र जेलबाट सरकार चलाउने प्रतिक्रिया दिएकी छन्।

अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानमा सक्रिए भएका बेला सन् २०१२ मा केजरीवालले आम आदमी पार्टी बनाएका थिए। २०१३ को विधानसभा चुनावमा झाडु चिन्ह लिएर चुनाव जितेपछि लगातार दिल्लीको मुख्यमन्त्री छन्।

सन् २०२१ मा दिल्लीमा मदिरा (सराव) विक्रेतामा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी कारोबारी रहेकोमा नयाँ नीति ल्याएर शतप्रतिशत निजी क्षेत्रलाई जिम्मा दिएका थिए। यही विषयमा भारतीय जनता पार्टी भाजपाले विरोध गर्दै आएको थियो।

गत वर्ष उक्त नीति केजरीवाल सरकारले फिर्ता लिए पनि यसको छानविनका क्रममा उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह हिरासतमा छन्।