एक करोडको ‘श्रमिक राहत कोष’ बनाउँदै प्रवासी नेपाली मञ्चको १५औँ बैठक क्वालालम्पुरमा सम्पन्न

एक करोडको ‘श्रमिक राहत कोष’ बनाउँदै प्रवासी नेपाली मञ्चको १५औँ बैठक क्वालालम्पुरमा सम्पन्न


काठमाडौँ ।

प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको १५औँ बैठक सम्पन्न भएको छ। नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्चले फेब्रुअरी १० र ११ तारिख मलेसियाको क्वालालम्पुरमा अन्तर्राष्ट्रिय कमिटीको बैठक भव्यरूपमा सम्पन्न गरेको हो। 

नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा बसेको बैठकको अध्यक्षता मञ्चका अध्यक्ष संजय थापाले गरेका थिए। मलेसियाको राजधानी क्वालालम्पुरमा दुई दिनसम्म चलेको बैठकले १० महत्त्वपूर्ण निर्णय गरेको प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष थापाले जानकारी दिए। 

बैठकले एक करोड नेपाली रुपैयाँको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” को स्थापना गर्ने निर्णय गरेको उनले बताए। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया लगायत विभिन्न देशहरूमा कार्यरत श्रमिक नेपालीहरूको आकस्मिक रूपमा आईपर्ने समस्याहरूलाई सम्बोधन गर्ने उद्देश्यले उक्त कोषको स्थापना गरेको उनको भनाइ छ। 

कोष सञ्चालनको लागि बैठकले कमलमणि गुरागाईँको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको उनले बताए। समितिलाई आगामी एक महिनाभित्र आवश्यक कार्यविधि निर्माण गर्न निर्देशन दिएको उनको भनाइ छ। कमलमणि गुरागाईँ (कतार) को संयोजकत्वको समितिमा भक्त गुरुङ (हङकङ), बलराम गिरी (साउदी अरेविया), शालिग्राम पन्त (बहरायन), मोहन रायमाझी (जापान) र दयाराम कुमाल (मलेसिया) सदस्य रहेका छन्। 

प्रवासी नेपालीहरूलाई भइपरी आउँदा चौबिसै घण्टा परामर्श सेवा दिने उद्देश्यले नेपालमा एक “हेल्प डेस्क” स्थापना गर्ने निर्णय गरेको उनले बताए। उक्त डेस्क सञ्चालनको लागि शिशिर नेपाल (अष्ट्रेलिया) को नेतृत्वमा प्रत्येक महादेशबाट एक(एक जना सदस्य रहने गरी सञ्चालन समिति गठन गर्ने निर्णय गरेको उनको भनाइ छ। । 

यी हुन बैठकले गरेका १० निर्णयहरू 
१–
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया लगायत विभिन्न देशहरूमा कार्यरत श्रमिक नेपालीहरूको आकस्मिक रूपमा आइपर्ने समस्याहरूलाई सम्बोधन गर्ने उद्देश्यले एक करोड नेपाली रुपैयाँको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” खडा गर्ने निर्णय गरेको छ। उक्त कोष सञ्चालनको लागि आगामी एक महिनाभित्र आवश्यक कार्यविधि निर्माण गर्नको लागि कमलमणी गुरागाँई (कतार)को संयोजकत्वमा, भक्त गुरुङ (हङकङ), बलराम गिरी (साउदी अरेविया), शालिग्राम पन्त (बहरायन), मोहन रायमाझी (जापान) र दयाराम कुमाल (मलेसिया) सदस्य रहने गरी समिति गठन गरेको छ।
   
२– प्रवासी नेपालीहरूलाई भईपरी आउँदा चौबिसै घण्टा परामर्श सेवा दिने उद्देश्यले नेपालमा एक “हेल्प डेस्क” स्थापना गर्ने निर्णय गरेको छ। उक्त डेस्क सञ्चालनको लागि शिशिर नेपाल (अष्ट्रेलिया) को नेतृत्वमा प्रत्येक महादेशबाट एक÷एक जना रहने गरी सञ्चालन समिति गठन गर्ने निर्णय गरेको छ। 

३– प्रवासी नेपाली मञ्च मलेसियाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहँदा औद्योगिक दुर्घटना लगायत विविध कारणले मृत्युवरण गर्नुभएका श्रमिक नेपालीहरूको मृत शरीरलाई निःशुल्क हवाई टिकटको व्यवस्था गरी नेपाल पठाउने, विविध कारणले अलपत्र परेका श्रमिक नेपालीहरूलाई निःशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल उद्धार गरिदिने, उपचार खर्चको अभावले पिडामा परेका श्रमिक नेपालीहरूलाई औषधोपचारको व्यवस्था गरिदिने, श्रमसम्बन्धी विविध कानुनी अप्ठ्यारोमा पर्नुभएका श्रमिक नेपालीहरूलाई निःशुल्क कानुनी सेवाको व्यवस्था गरिदिने लगायतका मानवीय कल्याणकारी सेवाहरू प्रदान गर्दै आएकोमा प्रवासी नेपाली मञ्च मलेसियालाई उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद दिएको छ, र यस कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सफलताको लागि हार्दिक शुभकामना दिएको छ।  

४– प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको यस बैठकलाई भव्यरुपमा सम्पन्न गर्न अहोरात्र खटी महत्त्वपूर्ण सहयोग पुर्‍याउने प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष सहित प्रवासी नेपाली मञ्च मलेसियाको सिंगो टीम र प्रवासी नेपाली मञ्च पूर्वी एसिया कमिटीलाई विशेष धन्यवाद दिएको छ। 
  
५– नेपालको संविधान २०७२ अनुसार गैर आवासीय नेपाली नागरिकता सम्बन्धी ऐन जारी भई नागरिकता वितरणका कामहरू भइरहेको सन्दर्भमा नेपाल सरकारले उक्त नागरिकताको वितरणको लागि आवश्यक नियम, कानुन र कार्यविधिहरू बनाउन नसक्दा अस्पष्टता र अन्यौलता सृजना भई प्रवासी नेपालीहरूले पिडा भोगिरहेको, गैर आवासीय नेपाली नागरिकता बाहकले नेपाल जाँदा भिसा लिनुपर्ने स्थिति बनेको, र गैर आवासीय नेपाली नागरिकतामा गरिएको नागरिक हकको सिमाबन्दिले नेपालीको जन्मसिद्ध अधिकारलाई नै कुण्ठित गरेको हुँदा नेपाली नागरिकताको निरन्तरता हुने गरी गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ।       

६– प्रवासमा बसेका बालिग मताधिकार प्राप्त नेपालीहरूका लागि नेपालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मतदान गर्न नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रको आधारमा प्रवासबाटै कूटनीतिक नियोग मार्फत वा ईन्टरनेटको विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने, मतदाता नामावलीलाई अद्यावधिक गर्ने, प्रमाणित मतदाता नामावलीको आधारमा जुन देशमा बसोबास गरेको हो सोही देशको नेपाली कूटनीतिक नियोगमा प्रत्यक्ष वा विद्युतीय मतदान यन्त्रको माध्यमबाट मतदान गर्न पाउने गरी व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ। 

७– युद्धग्रस्त युक्रेन र रुसको सेनामा विभिन्न कारणले भर्ना भई जीवन जोखिममा पर्न गएका नेपाली युवाहरूको जीवन रक्षाका लागि तत्काल आवश्यक व्यवस्था गर्न र नेपालमा उद्धार गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ। 

८– प्रवासी नेपाली मञ्चले मध्यपूर्वमा ईजरायल–हमासबीच चलिरहेको नरसंहारकारी युद्धकाकारण मृत्युवरणमा पर्नुभएका नेपाली युवाहरुका पीडित परिवारलाई आर्थिक राहतस्वरुप जनही एक लाख चालिस हजार र ४ जना घाइतेहरुलाई प्रतिव्यक्ति ३० हजार नेपाली रुपैयाँका दरले राहत प्रदान गरेको कुरालाई स्मरण गर्दै सोही युद्धमा परी हालसम्म बेपत्ता रहनुभएका विपिन जोशीको अविलम्ब खोजी गरी तत्काल उद्धार गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । 

९– गैर आवासीय नेपाली संघको प्रचलित नीति, नियम, विधि, विधान र प्रक्रियाको लोकतान्त्रिक माध्यमबाट गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्को निर्वाचन गत १९ अक्टोबर २०२३ मा सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित गरी त्यसले विधिपूर्वक काम गरिरहेकोमा, नेपाल सरकारले उक्त कार्यसमितिलाई नेपालको परराष्ट्र मन्त्रालयमा अद्यावधिक गरिनुपर्ने नेपाल सरकारको कानुनी व्यवस्था बमोजिम नवीकरण नगरी विभिन्न बहानाबाजीमा आलटाल गरिरहेकोले बिना कुनै पूर्वाग्रह अविलम्ब नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा नवीकरण गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ। 

१०– नेपालको वर्तमान सरकार महँगी, भ्रष्टाचार, अनियमितता, तस्करी, हत्याहिंसा र कुशासनमा चुर्लुम्म डुबेको: नेपालको अर्थतन्त्रलाई दुरावस्थामा पुर्‍याई नेपाली युवा शक्तिलाई बिदेसिन बाध्य बनाएको: नेपाललाई विदेशी शक्तिहरूको क्रिडास्थल बनाई नेपालको सार्वभौमिकताको रक्षामा समेत खलल पुग्ने गरी गम्भीर परिस्थिति खडा गरेको: नेपालको विकास निर्माणका कामहरूलाई अलपत्र पारी देश विकासको गतिलाई ठप्प बनाइएको परिस्थितिमा “समृद्ध नेपाल, सुखी नेपाली” को एउटै मात्र संकल्प बोकेका नेपाली जनताको भावनालाई कदर गर्दै सोही अनुरूप काम गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।