भारत विधानसभा चुनावः कहाँ कसको सरकार बन्दै छ ?

भारत विधानसभा चुनावः कहाँ कसको सरकार बन्दै छ ?


काठमाडौं, २६ फागुन । भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिले मतगणना चलिरहेको हो ।
यी पाँच राज्यको विधान सभा चुनावको नतिजा अबको केही घण्टामा आउने भारतीय सञ्चारमाध्मयले जनाएका छन् । अहिलेसम्मको गणनामा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा सत्तारुढ भारतीय जनाता पार्टी (बीजेपी) को सरकार बन्ने देखिएको छ ।
पन्जाबमा भने आम आदमी पार्टीले भारी बहुमतका साथ सरकार बन्ने देखिएको छ । भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल आम आदमी पार्टीले पन्जाबमा सरकार बनाउने देखिएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लिएको विकास र सुशासनलाई पन्जाबका नागरिकले प्रश्रय गरेका हुन् ।
भारतको चुनाव आयोगका अनुसार कुन राज्यमा कुन पार्टीको स्थिति कस्तो छ त ?
उत्तर प्रदेश
उत्तर प्रदेशको चार सय तीन विधान सभा सिटमा बीजेपीले दुई सय ५१ सिट जित्ने देखिएको छ । उसले ३३ सिट जितिसकेको छ भने दुई सय १८ सिटमा अग्रता लिइरहेको छ । यस्तै समाजवादी पार्टी एक सय १५ सिट जित्ने देखिएको छ । उसले तीन सिट जितिसकेको छ भने एक सय १२ सिटमा अग्रता लिइरहेको छ । बहुजन समाज पार्टीले एक र प्रमुख प्रतिपक्ष कांग्रेस आईले भने दुई सिट जित्ने देखिएको छ । अपना दल (सोनेलाल) ले १२ सिट जित्ने देखिएको छ ।
पन्जाब
पन्जाबको एक सय १७ विधान सभा सिटमा आम आदमी पार्टीले ९२ सिट जित्ने देखिएको छ । उसले ८३ सिट जितिसकेको छ भने नौ सिटमा अग्रता लिइरहेको छ । त्यस्तै कांग्रेसले १८ सिट जित्ने देखिएको छ । उसले १४ सिट जितिसकेको छ भने चार सिटमा अग्रता लिइरहेको छ । शिरोमणि अकाली दलले तीन र बीजेपीले दुई सिट जित्ने देखिएको छ ।
उत्तराखण्ड
उत्तराखण्डको ७० विधान सभा सिटमा बीजेपीले ४७ सिट जित्ने देखिएको छ । उसले २० सिट जितिसकेको छ भने २७ सिटमा अग्रता लिइरहेको छ । यस्तै कांग्रेसले १९ सिट जित्ने देखिएको छ । उसले ६ सिट जितिसकेको छ भने १३ सिटमा अग्रता लिइरहेको छ । यहाँ बीएसपीले दुई सिट जित्ने देखिएको छ ।
गोवा
गोवमा ४० विधान सभा सिटमध्ये बीजेपी २० सिट जितेर सरकार बनाउन गइरहेको छ । यहाँ कांग्रेसले ११ सिट जित्न सक्ने देखिएको छ । आम आदमी पार्टीले पनि यहाँ दुई सिट जित्ने देखिएको छ ।
मणिपुर
मणिपुरको ६० विधान सभा चुनावमा बीजेपीले २९ सिट जित्ने देखिएको छ । उसले १६ सिट जितिसकेको छ भने १३ सिटमा अग्रता लिइरहेको छ । यहाँ कांग्रेसले चार र जनता दल युनाइटेडले सात सिट जित्ने देखिएको छ ।