हरेक तीन महिनाको सार्वजनिक सुनवाईमा उभिन तयार छौँ : अनिल पोखरेल, अध्यक्ष एनआरएन अष्ट्रेलिया 

हरेक तीन महिनाको सार्वजनिक सुनवाईमा उभिन तयार छौँ : अनिल पोखरेल, अध्यक्ष एनआरएन अष्ट्रेलिया 

सदस्यता शुल्क अब ३० डलर, हरेक दुई वर्षमा ७५ हजार डलर कम्युनिटी सेन्टरलाई 


मेलबर्न अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले मिलियन डलरको कारोबार गर्ने संस्था स्वयंसेवी रूपमा चलेको भन्दै आफूहरूको नियतमा प्रश्न नगर्न आग्रह गरेका छन्। अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाले ब्रिसबेनमा आयोजना गरेको अन्तरक्रियामा एक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले यस्तो धारणा राखेका हुन्। उनले हरेक तीन महिनामा सार्वजनिक सुनवाईमा उभिएर हरेक प्रश्नको उत्तर दिन तयार रहेको भन्दै काम गर्दा केही गल्ती कमजोरी भए व्यक्तिगत रूपमै सुझाव दिन समेत अनुरोध गरे । उनले भने, काम गर्दा कमी, कमजोरी होलान्। तर, हाम्रो नियतमा शंका नगरियोस्। अध्यक्ष पोखरेलले एनआरएनले गत तीन महिनामा गरेका कामको फेहरिस्त बताउँदै सर्वसाधारणले धेरै विषय थाहा नपाएको बताए । यसका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको प्रतिबद्धता उनले जनाएका छन्। 

हाम्रा कमी कमजोरी औँल्याइदिएर नेतृत्वलाई सजग गराउनु अष्ट्रेलियाको नेपाली समुदायको कर्तव्य पनि हो उनले भने। कार्यक्रममा तथ्यांकसहित उपस्थित भएका उनले करिब दुई लाख नेपाली रहेको अष्ट्रेलियामा कुनै समस्या पर्ने बित्तिकै खै एनआरएन भन्ने अवस्था रहेको बताए। यसले आफूलाई खुसी र दुख दुवै दिने भन्दै पोखरेलले खुसी यस अर्थमा कि एनआरएनलाई खोज्छन्। आफू त्यसको नेता छु। दुःखी यस अर्थमा कि नेपाल सरकार, दूतावास कमजोर भयो जसका कारणले हामीले काम गर्न परेको छ। अष्ट्रेलियामा नेपाली विद्यार्थीको आगमन उच्च रहेको अवस्थामा एनआरएनको अधिकांश श्रोत उनीहरूकै समस्या समाधानमा बितेको अध्यक्ष पोखरेलको भनाई थियो। यसलाई स्पष्ट पार्दै उनले ९० प्रतिशतभन्दा बढी सोसियल वेलफेयर फन्ड विद्यार्थीहरूको उद्धार, उपचार वा दुर्घटनापछि नेपालमा शव पठाउने कार्यमा खर्च भएको आंकडा प्रस्तुत गरेका थिए। 

नेपाल सरकारले गरिदिएको परिभाषामा नै विद्यार्थी एनआरएन होइनन्। तर, हामी हाम्रो दाजुभाइलाई अप्ठेरो पर्दा टुलुटुलु हेरेर बस्न सक्दैनौँ। उनले भने, नेपाली समुदायको वरिपरि भएका घटनामा मानवीय नाताले सहयोग गर्नु पर्छ भन्ने दायित्व हो। 

उनले यो सबै एनआरएनले मात्रै वहन गर्न नसक्ने अवस्थामा पुगेको र यहाँको अन्य संघ–संस्था र एजेन्सीसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने तर्क पोखरेलको थियो। 

सदस्यता शुल्क अब ३० डलर
कार्यक्रममा खुलस्त पेश भएका अध्यक्ष पोखरेलले भने, गएको तीन महिनामा घरको झगडा, ढुकुटीले पैसा खाइदिएको, नेपाल सरकारका समस्या, क्लबले पैसा दिएनदेखि संघ–संस्थाका झगडा आदिको गुनासो पनि एनआरएनमा आएका छन्। समुदायको दायरामा गर्न सकिने कार्यहरू गर्दै जाँदा पनि गाली गर्न नछाडेकोमा भने दुःख लागेको छ। एनआरएनलाई गाली गर्नभन्दा पनि सुझाव र सल्लाह दिएर न्याय गर्दिन अनुरोध छ। पोखरेलको भनाई छ।   

उनले भने, एनआरएनलाई विधिवत् रूपमा सञ्चालन गर्न एउटा अफिस र कार्यालय सचिव आवश्यक भएको पनि बताएका छन्। टु मिलियन डलरको संस्थामा स्थायी रूपमा कार्यालय र सचिवालय राख्दा संस्थालाई दीर्घकालीन रूपमा परिपक्व बनाउनमा मद्दत गर्छ। 

उनले एनआरएन अष्ट्रेलियाले आफ्नो वेवसाईटमा परिमार्जन गर्न लागेको जानकारी दिए। अब वेवसाईटमा अष्ट्रेलियाका प्रत्येक राज्यको कार्यक्रम क्यालेण्डर राखिने बताए। सजिलै सबैको पहुँचमा हुने उक्त साइटले हरेक राज्यका इभेन्टका बारेमा पनि जानकारी दिने उनले दाबी गरे। सुन्दा सामान्य लागे पनि यसले दिर्घकालिन महत्त्व राख्ने उनले भनाई थियो। 

आगामी दिनमा एनआरएनले गर्ने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै पोखरेलले महिला र युवाहरूको क्षमता अभिवृद्धिमा केन्द्रित हुने, दोहोरो नागरिकताको विषयमा जानकारी दिने, विदेशमा सिकेको सिप देशमा हस्तान्तरणको वातावरण बनाउने, दोस्रो पुस्तालाई नेपालसँग जोड्ने योजना सुनाए। 

कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले सदस्यता शुल्कमा वृद्धि गरेको जानकारी दिए। अब साधारण सदस्यका लागि ३० डलर तिर्नुपर्नेछ। लाइफ मेम्बरका लागि २०० अष्ट्रेलियन डलर। सदस्यतामा ५ र लाइफ मेम्बरमा ५० डलर बढाइएको रकम अष्ट्रेलियामा बन्ने बहु सांस्कृतिक केन्द्रहरूलाई दिने योजना आफ्नो रहेको उनले स्पष्ट पारे। राज्यमा भएका सदस्य बापतको शुल्क बहु सांस्कृतिक केन्द्रहरूले त्यही अनुपातमा पाउनेछन्।