अष्ट्रेलियाको मेलबर्नमा कार्यालय रहेको सेयोन ट्राभल्सले यतिबेला आफ्नो कम्पनी गम्भीर समस्याग्रस्त भएको भन्दै कम्पनी बन्द गर्ने कानूनी बाटोमा लागेको घोषणा गरेको छ । यस कम्पनीका अपरेसन म्यानेजर नानीराम अर्यालले विज्ञप्तिमाथि विज्ञप्ति निकाल्दै समस्यालाई समाधान गर्ने आपूmहरुको प्रयास रहेको दावी गरिरहेका छन् । सुरुमा नेपालट्युबसँग सम्पर्कमा आएका उनले केही दिनभित्र नै सबैजनाको पैसा वा टिकट फिर्ता गर्ने भन्दै क्षमायाचना गरेका थिए । तर, त्यो केही दिनभित्रै उनले कम्पनी नै टाट पल्टेको घोषणा गर्दै बन्द गर्ने कानूनी बाटो समाएका छन् । कम्पनीबाट सस्तोमा टिकट पाउने अभिलाषाले नेपाल जाने टिकट काटेका सैयौंको संख्याका ग्राहकहरु हालसम्म सामूदायिक संघसंस्थाको सम्पर्कमा आएका छन् । एउटै शहरबाट मात्र नभएर अष्ट्रेलियाका विभिन्न शहरहरुमा समेत पीडित थपिँदै गएका छन् ।
सेयोन ट्राभल्सका नेपालीमूलका पीडितहरुको मात्रै ७ सय डलरदेखि १४ हजार डलरसम्म गरी सोमबार (११ डिसेम्बर) सम्म कूल २ लाख अष्ट्रेलियन डलर कम्पनीले तिर्नुपर्ने देखिएको छ ।
11th December Monday 2023
तपाईंले यो ट्राभल्सको ईतिहास केलाउँदै जानुभयो भने मेलबर्नमा नै केही समय अघि टिकट र क्रेडिट कार्ड तथा हुन्डीको कारोबारमा गरिएको बदमासीका कारण बन्द भएको एभरेष्ट भ्यू ट्राभल्ससम्म पुग्न सकिने मेलबर्नका जानकारहरु बताउँछन् । आशंका गर्ने ठाउँ केही टिकटको पैसा ओएमजी ट्राभल्सका नाममा समेत लिइएको पाइएको छ । एबीएन चेक गर्ने हो भने ओएमजी ट्राभल्स यसअघिको एभरेष्ट भ्यू ट्राभल्स नै नाम परिवर्तन गरी बनाइएको कम्पनी हो ।
केविसीखबरसम्म आइपुगेका पीडितहरुले केही गम्भीर प्रश्न गरेका छन् । यो प्रश्न सस्तो टिकटको प्रलोभनमा पैसा कुम्ल्याउने अनि विभिन्न बहाना देखाएर कम्पनी नै बन्द गर्नेहरुतर्फ मात्र सोझिएको छैन । यो प्रश्न अष्ट्रेलियाको कमजोर र अस्पष्ट नियामक निकाय, ठगीविरुद्धको सुस्त कानूनी कारवाही र आर्थिक लेनदेनलाई हल्कारुपमा लिइने परिपाटीमाथि समेत गरिएको छ ।
प्रश्न १
एयरलाईन्सको टिकट काट्ने व्यवसाय जसमा ग्राहकबाट निश्चित रकम लिईन्छ र आफ्नो कमिशन कटाएर एयरलाईन्सलाई त्यही रकम दिएर टिकट जारी गरिन्छ । यो समस्याग्रस्त भई बन्द नै गर्नुपर्ने अवस्था कसरी आउनसक्छ ? न त कुनै कार्यालय छ अनि न त कुनै अन्य कर्मचारी नै पनि देखिन्छन् । यस्तो अवस्थामा ग्राहकको रकम विमान कम्पनीलाई नबुझाएको बाहेक अरु के समस्या छ ?
प्रश्न २
यसअघि नेपालीमूलका अष्ट्रेलियनहरुको रकम हिनामिना गरी बन्द भएको एभरेष्ट भ्यू ट्राभल्ससँग यो कम्पनीको सम्बन्ध के हो ? रकम संकलन गर्ने प्रक्रिया र ग्राहकलाई दिग्भ्रमित बनाउने चाल यी दुई कम्पनीको एउटै देखिएको छ । अहिलेका अपरेसन म्यानेजर नानीहरि अर्याल विगतमा एभरेष्ट भ्यू ट्राभल्समै पनि पार्टनर रहेका थिए ?
प्रश्न ३
सम्पर्कमा आएका पीडितहरु कतिपय विगत एक वर्षअघि नै टिकट काटेर बसेकाहरु पनि छन् । उनीहरुले हवाई सेवा प्रयोग गर्ने बेलामा आफ्नो टिकट कायम नरहेको थाहा पाए । यो क्रम केही दिन अघिसम्म पनि चलिरहेको थियो । कम्पनीमा सम्पर्क गर्दा उनीहरुलाई विभिन्न बहाना सुनाइएको छ । कसैलाई रकम केही दिनमा दिन्छु भन्ने कसैको फोन नै नउठाउने र नयाँ नम्बरबाट फोन गर्दा फोन उठाउने गरिएको थियो । सियोन ट्राभल्सका अपरेसन म्यानेजर अर्यालले कम्पनी समस्यामा परेको स्वीकार गर्दै नेपालट्युबमार्फत क्षमायाचना गर्नु अघिल्लो दिनसम्म पनि ग्राहकहरुको खोजी नै गरिरहेको थियो ?
प्रश्न ४
कम्पनीले यतिबेला कम्पनी बन्द गर्नका लागि लिक्वीडेटरको खोजी गरेको दावी गरेको छ । ग्राहकबाट उठाइएको रकम कहाँ गयो ?
प्रश्न ५
एनआरएनका अध्यक्ष अनील पोखरेलसँगको कुराकानीमा कम्पनीका अपरेसन म्यानेजर नानीहरि अर्यालले आफुलाई चार देखि ६ साताको समय मिलेमा सबैको रकम फिर्ता गर्ने दावी गरेका छन् । यो समयमा थप ग्राहक ठगिदैनन भन्ने के ग्यारेन्टी छ ? रकम फिर्ता गर्नेभन्दा यसबाट उम्कने उपायको खोजीमा यो समय व्यतित गर्ने योजना हैन भन्ने आधार के हो ?
प्रश्न ६
सियोन ट्राभल्स मात्र होइन । यही कम्पनी अन्तर्गत रेमिट्यान्स लगायत अन्य व्यापार पनि गरिएको छ । ति कम्पनीहरुबाट अरु थप पीडित भएका छन् वा छैनन् ?
प्रश्न ७
नेपालीले सञ्चालन गरेको व्यवसाय भनेर विश्वास गरी ग्राहकहरुले जुन कारोबार गरेका छन् त्यसमा रकम त फिर्ता हुने न हुने अन्योलको भूमरीमा डुबेकै छ । यसकै कारण उनीहरुले विमानस्थलबाट फिर्ता हुनुपर्दा, अन्तिम अवस्थामा टिकट काट्नुपर्दा भोग्नुपरेको आर्थिक र मानसिक पीडाको क्षतिपूर्ति के हुन्छ ?
प्रश्न ८
मात्र १०२५ डलरमा दुईतर्फी हवाई उडान सिड्नीबाट काठमाडौंसम्म गर्ने विज्ञापन गरेर कतिले पाए त टिकट ? टिकट काट्नेहरुले पनि अहिलेको अन्य एजेन्सीहरुले नै दिएकोजस्तो मूल्यमा टिकट काटेको पाइएको छ । यसको अर्थ १०२५ ग्राहक फसाउने काइदा मात्र थियो या यिनीहरुसँग एयरलाईन्सको विशेष पहुँच ?
प्रश्न ९
अष्ट्रेलियाबाट काटेको टिकटको पैसा नेपालमा तिर्छु भन्ने एक ग्राहकलाई उपलब्ध गराइएको प्रभु बैंकको खातामा करोडौं रकम रहेको पीडितले बताएका छन् । उक्त खाता अहिले पीडितले उजुरी गरेपछि फ्रिज छ । उक्त खाता अनील दनाई नामक व्यक्तिको रहेको र त्यसमा आएको अधिकांश पैसा अष्ट्रेलियाबाट पठाएको भनिएको छ । निज व्यक्ति र यता रकम हिनामिना गर्ने यो कम्पनीबीचको सम्बन्ध के हो ?
प्रश्न १०
अष्ट्रेलियामा नेपालीले सञ्चालन गरेका कैयौं सफल व्यापार व्यवसाय छन् । तर, ट्राभल्स क्षेत्रमा यही प्रकृति र प्रवृत्तिको ठगी दोहारिरहने स्थिति सियोल ट्राभल्सको यो प्रकरणले ल्याइदिएको छ । स्थिति यस्तो छ पीडितहरुले अब नेपाली कम्पनीमार्फत एयरलाईन्सको टिकट नै काट्न विश्वासको संकट आइसकेको बताइरहेका छन् । यो गम्भीर अवस्थाले टिकट एण्ड ट्राभल्समा काम गर्ने अन्य कम्पनीहरुमा पर्नजाने क्षतिको बारेमा कसले जिम्मा लिन्छ ?
प्रतिक्रिया