ब्रिस्वेन अष्ट्रेलिया ।
अष्ट्रेलियाको क्विन्सल्याण्डमा नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) बनाउने कार्यले तीव्रता पाएको छ। अहिले यहाँको नेपाली समुदाय क्वीएनसीसी बनाउनु पर्छ भन्नेमा एक मत भएको देखिन्छ। मिनी नेपालको अवधारणा अनुसार बन्न लागेको क्वीएनसीसीमा झन्डै ५ सय जनाले आजीवन सदस्यता लिएका छन् भने करिब ११ लाख अष्ट्रेलियन डलर उठिसकेको छ।
क्विन्सल्याण्डमा नेपाली सांस्कृतिक केन्द्र बनाउने चर्चा चलिरहँदा यसका परिकल्पनाकार को हुन भन्ने जिज्ञासा उठ्नु स्वाभाविकै हो। क्वीएनसीसीको आवश्यकता र महत्वको बारेमा बुझेर यस कार्यलाई अघि बढाउने व्यक्ति हुन हरि खड्का। सन १९९२ मा अष्ट्रेलिया आएका खड्काले मिनी नेपालको अवधारणा अनुसार क्विन्सल्याण्डमा सन २००६ बाट नेपाली सांस्कृतिक केन्द्र बनाउनुपर्छ भने अभियान चलाएका थिए।
हरी खड्का पेसाले इन्जिनियर हुन्। नेपालमा १० वर्ष जति सरकारी क्षेत्रमा सेवा गरेका खड्का अष्ट्रेलियाको पनि सरकारी क्षेत्रमा इन्जिनियरको रूपमा काम गरेको लामो अनुभव छ। ‘आर्थिक मन्दीका कारण अष्ट्रेलियमा २० महिना बेरोजगार भएँ। यस्तो परिस्थितिमा मेरो एक जना साथी विनोद सापकोटाले धेरै नै सहयोग गर्नुभएको थियो।उहाँ अहिले अमेरिकामा हुनुहुन्छ’।
अवस्था सहज भएपछि खड्काले अष्ट्रेलियाको सरकारी सेवामा प्रवेश गरी सिनियर इन्जिनियर हुँदै प्रिन्सिपल पदबाट अवकाश लिए। हाल उनी विभिन्न संघ–संस्थामा कार्यरत छन्।
ब्रिस्बेनमा नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) बनाउने अवधारणा लगभग १७ वर्ष अघि भएको उनले सुनाए। सन २००६ तिरको कुरा हो। म आफ्नो नातेदारको बिहेमा गएको थिएँ। बिहे त्यहाँको एक सानो कम्युनिटी सेन्टरमा भएको थियो। कम्युनिटी हलका बारेमा जान्न व्यवस्थापकसँग कुरा गरेँ। सानो समुदायले संचालन गरेको उक्त कम्युनिटी हलको व्यवस्थापन र भाडाबाट राम्रो कमाइ गरेको सुनेपछि खड्का निकै प्रभावित भए।
एउटा सानो समुदायले चलाएको यो कम्युनिटी हलमा सोसाइटीका कार्यक्रम र अरूलाई पनि भाडामा दिने कुरा सुनेपछि खड्काले मिनी नेपालको अवधारणा अनुसार नेपाली सांस्कृतिक केन्द्र बनाउने अठोट लिए। यस विषयमा उनले आफ्ना नजिकका साथीहरूलाई सुनाए। तर यसमा कोही पनि सहमत भएनन्। तर खड्कालाई भने नेपाली सांस्कृतिक केन्द्र बनाएरै छाड्ने हुटहुटी चल्यो।
उनले यस विषयमा आफ्नी श्रीमतीसँग पनि कुरा गरे। उनको नेपाली सांस्कृतिक केन्द्र बनाउने कुरामा श्रीमती (रोजनी खड्का) पनि राजि भइन। यसका लागि धेरै पैसाको आवश्यकता हुने भएकाले उनले पैसा कसरी जम्मा गर्ने भन्ने बारेमा पनि सोच बनाए।
क्वीएनसीसीको अवधारणालाई जीवन्त राख्नुपर्छ भनेर विभिन्न कार्यक्रमहरूमा चिया बिस्कुट बेचेर फुडकर चन्दा संकलन गरेर खुत्रुकेको अवधारणालाई विकास गरेको खड्काको भनाइ छ।
उनले केबीसी खबरलाई भने, ‘मलाई भित्री मनदेखि यहाँ बढ्दै गएको नेपाली समुदायलाई एउटा कम्युनिटी हल त चाहिन्छ नै भन्ने लाग्यो। कतै न कतै बाट सुरुवात त गर्नु पर्यो भनेर मैले श्रीमतीसँग कुरा गरे। श्रीमतीले यसको आवश्यकता त हो। तर अहिले यो सम्भव छैन्। कतै न कतैबाट फण्ड बनाऊ। भन्ने सल्लाह गरेपछि समुदायका कार्यक्रमहरू र खेलकुदका कार्यक्रमहरूमा चिया बिस्कुट बेचेर अलि अलि पैसा पनि उठ्यो। उठेको पैसा जम्मा गर्दै गयौँ। यो खुत्रुकेमा २५ सय बढी रकम रहेको र उपयुक्त समयमा उक्त रकम क्वीएनसीसीलाई हस्तान्तरण गर्ने छौँ।’
यसरी काम गर्दै जाँदा एक संस्थाको आवश्यकता देखियो। सन २००९ मा यस विषयमा क्वीन्सल्याण्डको नेपाली समुदायमा बहस चलाइयो। ‘यो अभियानमा मलाई धेरै मित्रहरूले सहयोग गर्नु भएको छ। उहाँहरू नभइदिएको भए आज क्वीएनसीसी यहाँ सम्म आइपुग्ने थिएन’ उनले थपे।
सन २०१७ मा गएर नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) लाई आधिकारिक रूपमा दर्ता गरियो। यसको संस्थापक अध्यक्ष र पहिलो आजीवन सदस्य मबाटै सुरुवात गरेको उनले बताए।
उनले अहिले कम्युनिटी हल बनाउने कुरामा क्वीन्सल्याण्डवासी नेपालीहरूले चासो राखेकोमा खुसी व्यक्त गरे। क्वीएनसीसी बनाउने अभियानका संस्थापक अध्यक्षसमेत रहेका खड्काका अनुसार साथीभाइहरूले हामी जस्तो सानो समुदायले यत्रो ठुलो प्रोजेक्ट गर्न सकिँदैन भन्थे। यो अभियानमा जोडिन सकारात्मक हुन्थेनन्। पछिल्लो समय यहाँ बढेको नेपाली समुदायको जनसंख्याले क्वीएनसीसीको महत्त्व बुझेको छ। अहिलेको समितिले पनि धेरै राम्रो काम गरी राखेको छ। धेरे भन्दा धेरैलाई यो अभियानमा जोडेर सदस्यता वितरण गरिरहेको देख्दा खुसी लागेको उनले बताए।
पछिल्लो समय दोस्रो पुस्ता र युवा पुस्ता पनि नेपाली सांस्कृतिक केन्द्र बनाउने कुरामा अग्रसर भएको उनले बताए। हुर्किँदै गरेको दोस्रो पुस्तालाई अभिभावकले क्वीएनसीसीको महत्त्व र आवश्यकताबारे जानकारी गराएर यस कार्यमा जोडिन अभिप्रेरित गर्नुपर्नेमा उनले जोड दिए।
उनले भने, ‘मेरो छोरा पनि क्वीएनसीसीको सदस्य बनेको छ। यहाँ हुर्किँदै गरेको दोस्रो पुस्तालाई बाबुआमाले नभनेर पनि आफ्नो समुदायलाई केही गर्नुपर्छ भन्ने सकारात्मक भावना आउँदो रहेछ। यसो भन्दै गर्दा अभिभावकले केही भन्नै पर्दैन भन्ने होइन। उनीहरूलाई आफ्नो समुदायको बारेमा जानकार गराउने अभिभावको दायित्व हो। बाबुआमाले नेपाली सांस्कृतिक केन्द्र बनाउँदा हाम्रो कला संस्कृत, धार्मिकता र मौलिकताको संरक्षण हुन्छ भनेर सम्झाउनु पर्दछ।’
नेपाली सांस्कृतिक केन्द्र बनाउने अभियानको पहिलो सदस्य रहेको भन्दै आवश्यक लागेमा अझै पनि सहयोग गर्न आफू तयार रहेको उनले बताए। उनले क्वीएनसीसीको जग्गा किन्ने कुरामा सिंगो कमिटी एक मत भएकोमा खुसी व्यक्त गरे। नेपाली सांस्कृतिक केन्द्रको भवन निर्माणका लागि अहिलेको कार्यसमितिले उपसमिति गठन गरी भवन निर्माणको प्रस्तावनासहित सरकारसँग पहल गर्न खड्काले सुझाव दिए।
प्रतिक्रिया