रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा, के के भयो सहमति ?

रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा, के के भयो सहमति ?


काठमाडौं, २० मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीहरूको बाबजुद पनि भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज वार्षिक शिखर बैठकमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको (विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी) अझै बलियो हुँदै गइरहेको टिप्पणी गर्नुभएको छ । ‘कोभिड–१९ द्वारा उत्पन्न चुनौतीहरूको बाबजुद भारत–रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन आएको छैन । हाम्रो विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अझै बलियो हुँदै गइरहेको छ’, उहाँले भन्नुभयो ।
यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वका शक्ति राष्ट्रहरूबीच नयाँ समीकरण बनेको र यसमा भारत–रुसको सम्बन्ध बलियो भएको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा भारत एक महान् शक्ति र परिचित मित्र भएको भन्दै बदलिँदो विश्व समीकरणमा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीदेखि अरू अवसरहरूमा रुसी सहयोगको प्रशंसा गर्नुभएको छ ।
यसैबीच भारत र रुसबीच एउटा रक्षा सम्झौता भएको छ । आज दिल्लीमा भएको दुवै देशका रक्षा र विदेशमन्त्रीको वार्तामा भएको सम्झौताअनुसार रुसले भारतीय सेनाका लागि एके–२०३ राइफल उत्पादन गर्नेछ । रुसी कम्पनीले भारतको उत्तर प्रदेशमा रहेको अमेठीमा राइफलको उत्पादन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै सम्झौतामा सन् २०३१ सम्म सैन्य सहायता आदानप्रदान गर्ने सम्बन्धी सहमति पनि उल्लेख रहेको छ । सम्झौतमा दुवै देशका रक्षा र विदेशमन्त्रीहरूले हस्ताक्षर गरेका छन् ।
२१ औँ भारत–रुस वार्षिक शिखर सम्मेलन दिल्लीको हैदराबाद हाउसमा हुँदैछ ।
सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो ।
रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो ।