टिमुरेमा कुकुरको सहयोगमा बेपत्ताको खोजी जारी

टिमुरेमा कुकुरको सहयोगमा बेपत्ताको खोजी जारी



काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीको कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका –२ टिमुरे अहिले सुनसान छ । सञ्चार विच्छेद र सडक सञ्जाल टुटेको कारण सम्पर्कविहीन व्यक्तिहरुको खोज तथा उद्धारका लागि हाल प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी खटिएको छ ।

भोटेकोशी नदीमा आएको भीषण बाढीले सो क्षेत्रका सबै बस्ती बगाएपछि २१ सयभन्दा बढी व्यक्तिहरु पूर्णरुपमा सम्पर्कविहीन छन् । सशस्त्र प्रहरी बल नेपालले आफ्नो सीमित स्रोतसाधन र प्रतिकुल भौगोलिक अवस्थाका बावजुद सो क्षेत्रमा खोजी तथा उद्धार कार्य गर्दै आइरहेको छ । हालसम्म सशस्त्र प्रहरीले त्यसक्षेत्रमा बेपत्ता भएका ९७ जनाको शव फेला पारेकोे छ ।

बाढीको कारण सो क्षेत्रका स्थानीय बासिन्दा मात्र नभइ सुरक्षाकर्मी तथा नेपाली र विदेशी पर्यटकहरु सम्पर्कविहीन भएका छन् । सम्पर्कबिहीन भएकाहरुको खोज तथा उद्धारका लागि हाल त्यस क्षेत्रमा सशस्त्र प्रहरी बाहेक अन्य निकाय तथा स्थानीय छैनन् ।

सशस्त्र प्रहरीले त्यस क्षेत्रमा सम्पर्कबिहीन भएकाहरुको भाद्र १० गतेदेखि नै निरन्तर खोज तथा उद्धार कार्यमा जुटेको छ । अन्य स्रोतसाधन प्रयोग गर्न सहज नभएता पनि सशस्त्र प्रहरीले आधुनिक प्रविधिको प्रयोग गर्दै बेपत्ताहरुको ड्रोन क्यामरा र केनाइन डगको समेत सहयोगमा खोजीकार्य जारी राखेको जनाएको छ ।

सो क्षेत्रमा हाल सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिप राईको कमाण्डमा ३० जनाभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरुको विशेष टोली परिचालित रहेको राईले बताउनुभयो । नेपाल एपीएफ अस्पतालबाट प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा। सुरेन्द्र भट्टराई र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा। अनिल जोशी खटिनु भएको छ । सो टोलीमा गोताखोर तथा रोप रेस्क्यु र विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु छन् ।

बाढी पहिरोले स्याफ्रुवेशीदेखि रसुवागढी सडक खण्ड लगायतका मूख्य राजमार्गका करिव ४१ भन्दा बढी पुल बगाएको छ । भौगोलिक विकटता, विद्यु्त आपूर्ति अवरुद्ध भएको कारण त्यस क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरुलाई सम्पर्क गर्न कठिन भएको प्रहरीको भनाइ छ । वैकल्पिक विद्युत आपूर्ति लगायत साधनस्रोत लैजान कुनै पनि बैकल्पिक मार्ग नभएको कारण सशस्त्र प्रहरी बल नेपालको सञ्चार साधनमा सम्पर्क गर्न कठिन भएको राईले बताउनुभयो ।

त्यस क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल नेपालका ९ जना कर्मचारी बेपत्ता हुँदा समेत अन्य क्षेत्रबाट थप जनशक्ति खटाइ बेपत्ता भएकाहरुको खोजी कार्यमा निरन्तर जुटिरहेको छ । बाढीमा परी घाइते तथा सकुशल उद्धार गरिएका नागरिकलाई सुरक्षित साथ रसुवाको धुन्चेमा रहेको होल्डिङ सेन्टरमा पठाइएको छ ।

खोजी तथा उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरीको टोलीले भाद्र १२ गते साँझ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा एक ६ वर्षिया वालिकालाई जीवित उद्धार गर्न सफल भएको थियो । सो टोलीले बाढी आएको करिव ६० घण्टापछि बालिका माटोमुनि रोइरहेको आवाज सुनेपछि तत्काल उत्खनन् गरी जीवितै उद्धार गरेको थियो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरीले ती बालिकाको उद्धार पश्चात बोर्डर आउटपोष्ट टिमुरेमा ल्याई प्राथमिक उपचार गरेको थियो । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सशस्त्र प्रहरीले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाएको थियो ।