बैंकक । थाइल्याण्डमा १७ वर्षीया किशोरीको हत्या आरोपमा पक्राउ परेका अष्ट्रेलियाली नागरिक सिमोन कारम्यानले अनुसन्धानका क्रममा हत्या गरेको स्वीकार गरेको थाई प्रहरीले जनाएको छ। तर, आत्मसुरक्षामा यस्तो घटना भएको उनको दावी छ । चक्कुले आफुमाथि प्रहार गर्न खोजेपछि घटना भएको निजले बताएका छन् ।


प्रहरीका अनुसार ४५ वर्षीय अष्ट्रेलियाली नागरिकले किशोरी टुन्चानोक डोनहोमलाको हत्या गरेपछि शवलाई सुटकेसभित्र राखेर पटायाको एक सुनसान क्षेत्रमा फालिदिएका थिए। घटनापछि उनी अष्ट्रेलिया फर्किने तयारीमा रहेका बेला बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा होटलको सीसीटीभी फुटेजमा किशोरीलाई अन्तिम पटक ती अष्ट्रेलियाली नागरिकसँग होटल प्रवेश गरेको देखिएको थियो। केही समयपछि उनी ठूलो कालो सुटकेस बोकेर होटलबाट बाहिर निस्किएको दृश्य पनि प्रहरीले फेला पारेको जनाएको छ।
शुक्रबार राति पटायाको रेलमार्ग नजिक फालिएको अवस्थामा भेटिएको सुटकेसभित्र किशोरीको शव फेला परेको थियो। प्रारम्भिक पोस्टमार्टममा उनको शरीरमा कुटपिटका गम्भीर चोटका चिन्ह देखिएको र मृत्यु हिंसात्मक आक्रमणबाट भएको प्रहरीले जनाएको छ।
थाई प्रहरीले अभियुक्तमाथि हत्या, शव लुकाएको तथा अन्य सम्बन्धित अभियोगमा अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाको कारण र दुवैबीचको सम्बन्धबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
थाइल्याण्डको कानुनअनुसार हत्या अभियोग प्रमाणित भए दोषीलाई आजीवन कारावास वा मृत्युदण्डसम्मको सजाय हुन सक्ने व्यवस्था छ।
अष्ट्रेलियाको विदेश मन्त्रालयले घटनाबारे जानकारी रहेको जनाउँदै पक्राउ परेका अष्ट्रेलियाली नागरिकलाई आवश्यक कन्सुलर सहायता उपलब्ध गराइरहेको जनाएको छ।

प्रतिक्रिया