अष्ट्रेलियाको पहिलो महिला सेना प्रमुख बनिन् सुसान कोयल

अष्ट्रेलियाको पहिलो महिला सेना प्रमुख बनिन् सुसान कोयल



मेलबर्न, अष्ट्रेलिया । अस्ट्रेलियाले पहिलोपटक देशको सेना प्रमुख महिलालाई बनाएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशको सैन्य नेतृत्वमा ठूलो फेरबदल गर्दै पहिलो महिला सेना प्रमुख नियुक्त गरेका छन्। अष्ट्रेलियन डिफेन्स फोर्समा पूर्व सैनिक बेन रोबर्ट्स–स्मिथको पक्राउपछि उत्पन्न परिस्थितिबीच यो निर्णय गरिएको हो।

लेफ्टिनेन्ट जनरल सुसन कोयललाई सोमबार अष्ट्रेलियाको नयाँ “चीफ अफ आर्मी” का रूपमा नियुक्त गरिएको छ। उनी सन् २०२२ देखि उक्त पदमा कार्यरत लेफ्टिनेन्ट जनरल साइमन स्टुअर्टलाई प्रतिस्थापन गर्नेछिन्।

यसै क्रममा नौसेनाका प्रमुख मार्क ह्यामन्डलाई नयाँ “चीफ अफ डिफेन्स” नियुक्त गरिएको छ। उनले एडमिरल डेभिड जोनस्टनको स्थान लिनेछन्, जसको दुई वर्षे कार्यकाल जुलाईमा समाप्त हुँदैछ। त्यस्तै, रियर एडमिरल म्याथ्यु बक्लीलाई नयाँ “चीफ अफ नेवी” बनाइने भएको छ।

नयाँ जिम्मेवारीबारे बोल्दै मार्क ह्यामन्डले यस पदको जिम्मेवारी निकै महत्वपूर्ण रहेको बताए। उनले आगामी चुनौतीपूर्ण समयमा अष्ट्रेलियाका सैनिक, नौसैनिक र वायुसेनासँग मिलेर काम गर्न उत्साहित रहेको उल्लेख गरे।

रक्षा मन्त्री रिचर्ड मार्लेसले लेफ्टिनेन्ट जनरल कोयललाई “उत्कृष्ट उम्मेदवार” भन्दै उनको नियुक्ति ऐतिहासिक भएको बताए। उनका अनुसार यो निर्णय अष्ट्रेलियन डिफेन्स फोर्समा कार्यरत तथा भविष्यमा सेवा गर्न चाहने महिलाहरूका लागि प्रेरणादायी हुनेछ।

रक्षा उद्योग मन्त्री प्याट कन्रोयले पनि कोयलको नियुक्ति योग्यता र अनुभवका आधारमा गरिएको भए पनि यो ऐतिहासिक कदम भएको बताए।

लगभग ४० वर्षको सैन्य अनुभव भएकी कोयलले टिमोर-लेस्ते, सोलोमन टापु, अफगानिस्तान र मध्यपूर्वमा सेवा गरिसकेकी छन्। उनी सन् २०२४ देखि “चीफ अफ जोइन्ट क्यापेबिलिटिज” का रूपमा कार्यरत थिइन्।

अष्ट्रेलियाको सेना प्रमुखको जिम्मेवारीमा सेना सञ्चालन, तालिम तथा तयारी अवस्थाको नेतृत्व गर्ने महत्वपूर्ण भूमिका समावेश हुन्छ। कोयलको नियुक्ति यस्तो समयमा आएको छ, जब अष्ट्रेलियन डिफेन्स फोर्स विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले देशको सेनाको १२५ वर्षको इतिहासमा पहिलोपटक महिलालाई सेना प्रमुख नियुक्त गर्ने भएका हुन्। रक्षामन्त्री रिचर्ड मार्ल्सले यसलाई ऐतिहासिक क्षण भन्दै यो निर्णय महिलाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरेका छन्।
५५ वर्षीया कोयल १९८७ देखि सेनामा कार्यरत छिन् भने यसबिच उनले धेरैवटा वरिष्ठ पद सम्हालिसकेकी छन् । हाल अस्ट्रेलियाली रक्षा बलमा महिलाको प्रतिनिधित्व लगभग २१ प्रतिशत छ। यसलाई २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । हालैका वर्षमा सेनाभित्र यौन उत्पीडन र भेदभावको आरोप लागेका बेला यो निर्णयलाई महत्त्वपूर्ण मानिएको छ।