सिड्नी । नेपाली बहुसांस्कृतिक केन्द्रमार्फत नेपालीको आफ्नै सांस्कृतिक स्थल बनाउने लक्ष्यका साथ खोलिएको ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरको पहिलो साधारण सभाबाट विष्णु हमाल अध्यक्षमा दोहारिएका छन् । संस्थापक अध्यक्ष हमाललाई साधारणसभाले निर्विरोध चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विष्णु हमाल, उपाध्यक्षमा उमेश पन्त र देव बहादुर गुरुङ चयन भएका छन्। महासचिवमा डा। प्रकाश पौडेल, कोषाध्यक्षमा प्रकाश वस्ताकोटी र सहकोषाध्यक्षमा अमृत आचार्य चयन भएका छन्।
यसैगरी सदस्यहरूमा बाबु गौतम, प्रतिज्ञा अधिकारी, महेन्द्र लम्साल, लक्ष्मी वस्ताकोटी, मीना शर्मा, पुरुषोत्तम सडौला, कल्याणी वर्तौला, सुदर्शन थापा, सुवान्स साह, विजय पौडेल उपाध्याय र प्रीति शर्मा चयन भएका छन्। बाँकी दुई सदस्य पछि मनोनयन गरिने जनाइएको छ ।
साधारण सभापछि केविसीखबरसँग कुरा गर्दै अध्यक्ष हमालले बहुसांस्कृतिक केन्द्रको सपना साकार पार्न न्यूसाउथवेल्समा रहेका नेपाली सामूदायिक संघ संस्थाहरुसँगको सहकार्यमा सदस्य संख्या २ हजार बनाइने, यसै वर्षभित्र कम्तिमा ५ हेक्टर क्षेत्रफल रहेको जग्गा प्राप्तिका लागि पहल गर्ने लगायतका योजना रहेको बताए । जग्गा खोजीका लागि छुट्टै टिम निर्माण गरिने र विभिन्न काउन्सिलहरुसँग, न्यूसाउथवेल्स र संघीय सरकारका अधिकारीहरुसँगको छलफललाई अगाडि बढाइने जानकारी हमालले दिए । उनले अबको दुई वर्षका लागि आफुले रोडम्याप तयार पारेको र उक्त योजना कार्यसमितिमा छलफल भएपछि सार्वजनिक गर्ने पनि जानकारी दिए ।

कोषाध्यक्ष प्रकाश वस्ताकोटीका अनुसार नेपालका कथा वाचक दिनबन्धु पोखरेलको उपस्थितिमा आयोजित महायज्ञमा ८८ जना दाताले प्रतिबद्धता जनाएको २० लाख अष्ट्रेलियन डलरभन्दा बढीमध्ये हालसम्म १ लाख ३६ हजार डलर संकलन भइसकेको छ।साधारण सभामा पेश गरिएको आर्थिक प्रतिवेदनमा संस्थाको कोषमा हालसम्म ९ लाख डलर जम्मा भएको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत संजीव शर्माले नेपाली कला, संस्कृति र संस्कार संरक्षण तथा प्रवर्द्धनमा वाणिज्यदूतको कार्यालयको तर्फबाट हातेमालो गर्न तयार रहको प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा लिबरल पार्टीका नेता एवं न्यूसाउथवेल्सका लागि छायाँ बहुसांस्कृति मन्त्री मार्क जोसेफ काउरेले नेपाली समुदायले सञ्चालन गरेको संस्कृति बहुसांस्कृतिक केन्द्र बनाउने अभियानमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए । उनले ‘मिनी नेपाल’ निर्माणले अष्ट्रेलियाली समुदायलाई नेपाली समाज र संस्कृतिबारे बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा संस्थालाई स्थापना कालदेखि सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साधारण सभामा नेपाली बालबालिकाहरुले आफ्नो गीत, संगीत र नृत्य मार्फत आफ्नो कला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया