आज महाशिवरात्री, पशुपतिनाथमा सुरक्षा व्यवस्था कडा, दर्शनार्थीलाई बनाइयो सहज

आज महाशिवरात्री, पशुपतिनाथमा सुरक्षा व्यवस्था कडा, दर्शनार्थीलाई बनाइयो सहज



काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको भ्रमण गरी सुरक्षा व्यवस्था तथा तयारीबारे जानकारी लिएका छन् । हिन्दु धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिमा आउने भक्तजनको सहजता र सुरक्षाका लागि भएका तयारीबारे उनले निर्देशन दिएका हुन् ।

गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख, काठमाडौँका प्रमुख जिल्ला अधिकारी एवं उच्च पदाधिकारीसहित पशुपति पुग्नुभएका मन्त्री अर्याललाई पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले तयारीबारे जानकारी गराएका थिए ।

निरीक्षणका क्रममा काठमाडौँ प्रहरी प्रमुख रमेश थापाले महाशिवरात्रि लक्षित सुरक्षा योजनाबारे ब्रिफिङ गरे । तयारी अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी कुल ६ हजार सुरक्षाकर्मी परिचालन गरिने छ । प्रत्येक सिफ्टमा एक हजार दुई सय सुरक्षाकर्मी खटिने गरी व्यवस्था मिलाइएको छ ।

भीडभाडमा हुन सक्ने चोरी, पाकेटमारी, लागुपदार्थ सेवन तथा सम्भावित दुर्व्यवहार नियन्त्रणका लागि सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै स्थानीय तह, विकास कोष, नेपाल स्काउट र सुरक्षा निकायको समन्वयमा विभिन्न स्थानमा ुहेल्प डेस्कु स्थापना गरिएको छ ।