आजबाट सुरु हुँदैछ २१ औं न्याभ कप क्रिकेट, १५ टिम सहभागी

आजबाट सुरु हुँदैछ २१ औं न्याभ कप क्रिकेट, १५ टिम सहभागी


मेलबर्न, अष्ट्रेलिया ।

विगत दुई दशक अगाडिबाट चलिरहेको एउटा क्रिकेट प्रतियोगिता मेलबर्नमा आजबाट सुरु हुँदैछ । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले हरेक वर्ष आयोजना गर्दै आएको न्याभ कप क्रिकेटको २१ औं संस्करण आजबाट सुरु हुन लागेको हो । अघिल्लो संस्करणको विजेता फार वेष्ट हन्टर्स क्रिकेट क्लबले उपाधि रक्षाका लागि अन्य १४ टिमसँग प्रतिस्पर्धा गर्नैछ । दुई समूह विभाजन गरेर खेल खेलाइँदैछ भने न्याभ कप क्रिकेटसँगै अन्डर १०, अन्डर १५ क्रिकेट प्रतियोगिता समेत गरिनेछ । यी प्रतियोगिताहरु क्रिकेटप्रति नेपाली समूदायको दोश्रो पुस्ताको चासो बढाउन गर्ने गरिएको हो ।

यस्तै च्यारिटी कपको ८ औं श्रृंखला पनि आयोजना गरिनेछ । यसमा विभिन्न व्यापारिक साझेदार र समूदायका सदस्यहरुले क्रिकेट खेलेर सामूदायिक कार्यमा सहयोग जुटाउने गरेका छन् ।

आजबाट सुरु हुन लागेको न्याभ कप क्रिकेटमा विजेता टोलीले ५५ सय डलर पुरस्कार राशी प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले २१ सय डलर हात पार्नेछ ।

प्रतियोगिताको प्राविधिक संयोजन भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले गर्नेछ । आगामी मार्च १५ तारिख फाईनल खेल आयोजना गर्दै करिब तीन महिना लामो प्रतियोगिताको समापन गरिनेछ । हरेक सप्ताहन्तमा प्रतियोगिताका खेलहरु रिजर्भोयरस्थित जेसी डोनाथ रिजर्भ मैदानमा खेलहरु गरिनेछ ।

प्रतियोगिताको विषयमा जानकारी दिँदै न्याभ क्रिकेट प्रतियोगिताका संयोजक सुनील खड्काले समूदायको सक्रिय सहभागिताले नै प्रतियोगिता यहाँसम्म आइपुगेको र आगामी दिनमा पनि यस्तै साथ प्राप्त हुने अपेक्षा गरेको बताएका छन् । उनले क्रिकेट मैदानमा उपस्थित भएर खेलाडीहरुको हौसला बढाउन अपिल पनि गरेका छन् ।