काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।
थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदा आयोगले नेपाली कांग्रेसको विधानलाई नै प्रमुख आधार लिइएको हो । ‘दलको विधानको धारा १७ ९२० लाई प्रमुख आधार मानेर विशेष महाधिवेशनबाट अद्यावधिक गर्नका लागि पेस भएको कागजातसहितको प्रमाणहरूलाई मुख्य आधार लिइएको हो ।
पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो ।
विशेष महाधिवेशनबाट भएको निर्णयअनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएका थिए ।
पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए ।
त्यसपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई आयोगमा बोलाएको थियो ।
कांग्रेसका दुवै पक्षको दाबीपछि आयोगले गगन पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको हो । गगन पक्षले मान्यता पाएपछि अब
चुनाव चिह्न रुख र चारतारे झण्डा पनि उनीहरूकै हुने भएको छ ।
यता गगन थापालाई आधिकारिक मान्यता दिने निर्णयपछि काँग्रेसको देउवा खेमा भने रन्थनिएको छ । उसले निर्णय प्राकृतिक नभएको आरोप लगाउँदै सेटिङमा निर्वाचन आयोग चलेको सम्मको टिप्पणी गर्न भ्याएको छ । देशव्यापी रुपमा आन्दोलन थाल्ने उसले अभिव्यक्ति दिएको छ । आगामी ६ तारिखभित्र प्रत्यक्षतर्फको उम्मेद्वार सूचि बुझाउनुपर्ने भएपछि र गगन थापाकै हस्ताक्षरमा त्यस्तो सूचि आयोगमा पुग्ने वातावरण रहेपछि अब काँग्रेसमा चुनावमा उम्मेद्वारका आकांक्षीहरुको दौड सानेपा हैन गगन निवासतर्फ हुने निश्चित देखिएको छ । खासमा निर्वाचन आयोगले १५ दिनको समय लिन्छ र त्यसबीचमा उम्मेद्वारी टुंगो लागिसकेपछि जस्तो निर्णय आएपनि देउवाकै वरिपरि एकढिक्का काँग्रेस रहन्छ भन्ने आंकलन पार्टीका उच्च नेताहरुले गरेका थिए । तर, परिस्थिति एकै दिनमा अर्कोतर्फ उल्टिन पुगेको हो ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफुहरु सबैखाले संघर्षमा उत्रिन तयार रहेको बताएका छन् । निर्णयपछि प्रतिक्रिया दिँदै उनले आयोगको निर्णय गलत भएको भन्दै सञ्चार माध्यममा आएका विभिन्न कुराहरुले पुष्टि पाएको बताए । उनले भने, वैधानिक, कानूनी, संवैधानिक र अन्य सबै खाले प्रतिवाद गर्नका लागि हामी तयार छौं ।

प्रतिक्रिया